Shopping cart

  • Home
  • समाज
  • राष्ट्रिय योग शिक्षा परिषद् निर्माण प्रक्रिया अघि बढाउने तयारी, मन्त्रालय र योग अभियन्ताबीच छलफल
देश

राष्ट्रिय योग शिक्षा परिषद् निर्माण प्रक्रिया अघि बढाउने तयारी, मन्त्रालय र योग अभियन्ताबीच छलफल

Email :22

नबराज काफ्ले

काठमाडौं । विद्यालय तहदेखि नै योग शिक्षालाई व्यवस्थित, संस्थागत र नीतिगत रूपमा अघि बढाउने उद्देश्यले राष्ट्रिय योग शिक्षा परिषद् निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालय र योग–ध्यान–आरोग्य सन्जालको प्रतिनिधिबीच छलफल भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत विद्यालय शिक्षा महाशाखाका प्रमुख तथा मन्त्रालयका सहसचिव शिव सापकोटा र योग–ध्यान–आरोग्य सञ्जालका महासचिव नवराज काफ्ले लगायतबीच भएको छलफलमा परिषद्को आवश्यक संरचना, कार्यक्षेत्र, समन्वय संयन्त्र तथा आगामी प्रक्रियाका विषयमा विचार–विमर्श भएको हो।

छलफलका क्रममा राष्ट्रिय योग शिक्षा परिषद्लाई पूर्णता दिई आगामी राष्ट्रिय योग दिवसका अवसरमा यसको घोषणा गर्ने लक्ष्यसहित आवश्यक गृहकार्य अघि बढाउने विषयमा जोड दिइएको छ। त्यसका लागि योग–ध्यान–आरोग्य सञ्जालले संस्थागत अवधारणा, संरचना र प्रस्तावसम्बन्धी आवाश्यक गृहकार्य अघि बढाउन सहयोग पुर्याउनु पर्ने तथा मन्त्रालयले आफ्नो क्षेत्राधिकारभित्र आवश्यक समन्वय र सहजीकरण गर्ने विषयमा छलफल भएको जनाइएको छ।

विद्यालय शिक्षामा योगलाई प्रभावकारी रूपमा समावेश तथा विस्तार गर्न दीर्घकालीन संरचना आवश्यक रहेको उल्लेख गर्दै सहसचिव सापकोटाले सम्बद्ध सरकारी निकाय, विज्ञ, योग क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाबीच बृहत् छलफल गरी परिषद्को स्वरूपलाई अन्तिम रूप दिनुपर्ने धारणा राख्नुभएको थियो।

उहाँका अनुसार परिषद् निर्माणको विषयलाई एउटै संस्थाको पहलमा सीमित नराखी सम्बन्धित सबै पक्षको सहभागितामा व्यापक छलफलमार्फत टुंगोमा पुर्‍याउन आवश्यक छ। संघीय सरकारले तय गर्ने नीति तथा मापदण्डअनुसार प्रदेश र स्थानीय तहसम्म योग शिक्षाको कार्यक्रमलाई समन्वयात्मक ढंगले अघि बढाउने विषयमा समेत छलफल भएको थियो।

यसका लागि आगामी दिनमा सरकारका सम्बन्धित निकाय, प्रदेश प्रतिनिधि, स्थानीय तह, शिक्षा क्षेत्र, योग विज्ञ तथा सम्बद्ध संघ–संस्थाका प्रतिनिधिहरू सम्मिलित सरोकारवाला भेला/सम्मेलन आयोजना गरी परिषद्को संरचना, अधिकार, जिम्मेवारी र कार्यप्रणालीलाई अन्तिम रूप दिने तयारीबारे समेत छलफल भएको छ।

छलफलमा योग–ध्यान–आरोग्य सञ्जालका तर्फबाट महासचिव नवराज काफ्लेले प्रतिनिधित्व गर्नुभएको थियो। उहाँले विद्यालय तहबाटै योग, ध्यान र स्वस्थ जीवनशैलीसम्बन्धी ज्ञान तथा अभ्यासलाई व्यवस्थित रूपमा विस्तार गर्न राष्ट्रियस्तरको संस्थागत संयन्त्र आवश्यक रहेको विषय प्रस्तुत गर्नुभएको थियो।

Comments are closed

Related Post