Shopping cart

  • Home
  • समाज
  • ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार
देश

‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार

Email :5

खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले विक्रम संवत् २०८२ सालमा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिका लागि प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार प्रसिद्ध कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानमा प्राप्त १९२ पुस्तकमध्ये विस्तारित सूचीका १५ र संक्षिप्त सूचीका ५ कृतिमध्येबाट मुल्यांकन समितिले ‘सलह’ लाई चयन गरेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।

‘सलह’ नेपाली समाजका सीमान्त आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई
कलात्मक ढङ्गले उजागर गर्ने सशक्त आख्यान हो । काव्यिक भाषा, प्रतीकात्मकता, जीवन्त प्रकृति-चित्रण र मार्मिक कथनशैली यसका प्रमुख शक्ति हुन् । ‘सलह’ले व्यक्तिगत पीडालाई सामाजिक यथार्थसँग जोड्दै नेपाली उपन्यासमा सीमान्त जीवन र नारी अस्तित्वको प्रश्नलाई प्रभावशाली रूपमा स्थापित गरेको छ ।

त्यसैगरी, नेपाली साहित्यमा पाँच दशकदेखि साधनारत कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय गरिएको छ । शरणार्थी,राधा,आधा बाटो लगायत ३२ कृतिका लेखक तथा झन्डै दुई दर्जन ग्रन्थका सम्पादक तथा लीला लेखनका व्याख्याता धरावासीले विशेषतः आख्यानमार्फत सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद र इतिहासका उपेक्षित पक्षलाई उत्तर आधुनिक ढांचाका माध्यमबाट प्रस्तुत गरेका छन् ।

यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा.डा. जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरिएको छ । नेपाली,
अङ्ग्रेजी र संस्कृत भाषाका ज्ञाता तथा परराष्ट्र नीति र कूटनीतिका अध्येता आचार्यले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसम्बन्धी दर्जनभन्दा बढी कृति लेखेका छन् । ‘यदुनाथ खनालः जीवनी र विचार’,‘भानुभक्त आचार्यको रामायण नेपाली र अङ्ग्रेजीमा’ र ‘नेपालको परराष्ट्र नीतिः एक विमर्श’ उनका उल्लेखनीय कृतिमध्ये हुन् । संयुक्त राष्ट्रसङ्घमा नेपालका स्थायी प्रतिनिधिका रूपमा समेत कार्यरत आचार्यले नेपाली भाषा, साहित्य र कूटनीतिक चिन्तनलाई अन्तर्राष्ट्रिय सन्दर्भसँग जोड्न योगदान दिएका छन् ।

यी पुरस्कारको राशि जनही अक्षरेपी तीन लाख तथा सम्मानपत्र रहेको छ ।

Comments are closed

Related Post