जलवायु विज्ञ डाक्टर बसन्त अधिकारीले नेपालले विश्वसँग जलवायु परिवर्तनको दावी पेस गर्न स्याटेलाइट तस्बिर, भू–वैज्ञानिक अध्ययन, पानीको प्रवाह, तापक्रम लगायतका वैज्ञानिक प्रमाणको विश्लेषण गर्नु पर्ने आवश्यक रहेको बताउनु भएको छ।
उहाँले बाढी र हिमपहिरोजस्ता विपद्का घटना जलवायु परिवर्तनका कारण बढिरहेका छन् भन्ने कुरामा कुनै शंका नभएको धारणा राख्नु भएको छ। टुकी नेटवर्कसँग कुरा गर्दै अधिकारीले हरेक घटनालाई जलवायु परिवर्तनसँग मात्रै जोडेर निष्कर्ष निकाल्नु वैज्ञानिक दृष्टिले उचित नहुने भन्दै त्यसका लागि स्याटेलाइट तस्बिर, भू–वैज्ञानिक अध्ययन, पानीको प्रवाह, तापक्रम लगायत वैज्ञानिक प्रमाणको विश्लेषणमा जाेड दिनु भएको हो ।
विज्ञानमा कुनै निष्कर्ष पहिल्यै तय गरेर त्यसलाई प्रमाणित गर्ने प्रयास गरिँदैन। बरु घटना अध्ययन गरिन्छ, तथ्य-प्रमाण संकलन गरिन्छ र त्यसका आधारमा निष्कर्ष निकालिन्छ। कुनै कुरा गलत प्रमाणित भयो भने त्यसलाई सच्याउन वैज्ञानिक प्रक्रिया खुला हुन्छ र त्यसलाई स्विकार गर्न सक्नु पर्छ। त्यसैले अहिले रसुवा तथा अन्य क्षेत्रमा देखिएको बाढी र हिमपहिरोको वास्तविक कारण पत्ता लगाउन वैज्ञानिक प्रमाण जुटाउन अध्ययन तथा विज्ञ टाेलीले मात्रै सक्ने उहाँको भनाइ छ।
विश्वका जुनसुकै हिमालय क्षेत्रमा पनि संवेदनशीलता बढेकाे बताउदै अधिकारीले पछिल्ला केही वर्षदेखि हिमाली क्षेत्रमा पानीको स्वरूप, हिमनदी र वातावरणीय परिवर्तनमा विभिन्न परिवर्तन देखिएकाे स्विकार गर्नु भएको छ। उहाँका अनुसार यसले मानव बस्ती, पूर्वाधार र विकासका गतिविधिमा समेत जोखिम बढाएको देखिन्छ ।
केही दशक अधिदेखिकाे अध्यायनले हिमपहिरोका कारण एकैपटक ठूलो मात्रामा पानी वा माटो बगेर आउने घटना नेपालमा मात्र नभई, विश्वका अन्य हिमाली तथा पहाडी क्षेत्रमा पनि देखिएकाे सत्य हो । यी घटनाको आकार र प्रभाव भने फरक–फरक हुन्छ। त्यसैले कुनै एउटा घटनालाई अर्को घटनासँग तुलना गर्दा वैज्ञानिक आधार-प्रमाण जुटाउन जरुरी रहन्छ।
रसुवा बाढीकाे मुख्य प्रश्न भनेको बाढी कसरी उत्पत्ति भयो र त्यसको वास्तविक कारण के थियो भन्ने नै हो। यसको उत्तर अनुमानका आधारमा होइन, वैज्ञानिक अध्ययनबाट खोजिनु पर्नेमा उहाँको विशेष जाेड छ। विपद् आउनुअघि चिनबाट पर्याप्त सूचना र पूर्वसूचना नआएको भन्ने आराेप गलत भएको उहाँ बताउनु हुन्छ। विपद् सुचना भन्दा अगाडि आइपुग्छ। त्यसमा जाे काेही पनि पर्न सक्छ। तर सुचना प्रणाली विकास गर्न सके जनधनको क्षति कम गर्न सकिन्छ। यस घट्नाबाट पाठ सिकेर आगामी दिनमा आउने विपद्का लागि जोखिमयुक्त क्षेत्रमा निरन्तर निगरानी, अध्ययन र सूचना प्रणाली विकास गर्नु आवश्यक हुन्छ।
रसुवा बाढी नेपालका लागि यो विषय जलवायु न्याय र जलवायु वित्तसँग जोडिएकाे छ। हिमालयले विश्वको वातावरणीय प्रणालीमा महत्वपूर्ण भूमिका खेलिरहेको अवस्थामा नेपालजस्ता विकासशील हिमाली मुलुकले अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना एजेन्डा वैज्ञानिक तथ्य र प्रमाणका आधारमा प्रस्तुत गर्नुपर्छ। हामीले विज्ञान सम्वत प्रमाणका आधारमा दावी पेस गर्ने हो भने जलवायु न्याय पाउन सक्ने सम्भावना धेरै छ। वैज्ञानिक तथ्य विना युएनमा बाेल्ने र अरु देशलाई आराेप लगाउने हो भने विश्व समुदायले विश्वास नगर्न सक्छ। यसले भइरहेको बैदेशीक सम्बन्धमा पनि चिसाेपन आउन सक्छ।
अधिकारी भन्नू हुन्छ,`नेपाल जस्तै जलवायु परिवर्तनको असर भोगिरहेका देशहरु धेरै छन्। तिनिहरुकाे एउटा समूह खडा गरेर अन्तर्राष्ट्रिय समुदायसँग हस्तक्षप बढाउनु पनि अबकाे आबाश्यकता हो । जलवायु वित्त र सहयोगको माग गर्दा पनि त्यसका पछाडि स्पष्ट वैज्ञानिक तथ्य, क्षतिको प्रमाण र अध्ययन हुनुपर्छ।त्यो नेपालसँग नभए अरु पीडित देशसँग हुन सक्छ। त्यसैले नेपालले आफ्नो हिमाली एजेन्डालाई सामूहिक अन्तर्राष्ट्रिय एजेन्डाका रूपमा स्थापित गर्ने कुरालाई प्राथमिकता दिनुपर्छ।´
रसुवालगायत प्रभावित क्षेत्रमा सरकारले वैज्ञानिक टोली पठाएर घटनाको अध्ययन गराउनु पर्छ । घटना भएको स्थानमै पुगेर भूगोल, पानीको स्रोत, हिमनदी, पहिरो तथा अन्य सम्भावित कारणको अध्ययन गरेपछि मात्रै त्यसकाे वास्तविक कारणबारे ठोस निष्कर्ष निकाल्न सकिने उहाँको भनाइ छ। विना अध्यायन धारणा बनाउन नहुने डाक्टर अधिकारीकाे सुझाव छ।
विपद्का घटनाबारे सामाजिक सञ्जाल वा सार्वजनिक बहसमा विभिन्न धारणा आउन सक्छन्। तर वैज्ञानिक निष्कर्ष भने प्रमाणमा आधारित हुनुपर्छ। त्यसैले अहिलेको आवश्यकता आरोप–प्रत्यारोप वा अनुमानभन्दा पनि घटनाको गहिरो वैज्ञानिक अध्ययनबाट नै सुधार र भविष्यमा यस्ता विपद्बाबाट हुने क्षति न्यूनीकरण हो।













Comments are closed