Shopping cart

  • Home
  • समाज
  • भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चित्तशान्तिका लागि बौद्धनाथमा तीनदिने विश्व शान्ति पूजा
देश

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चित्तशान्तिका लागि बौद्धनाथमा तीनदिने विश्व शान्ति पूजा

Email :116

काठमाडौँ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ज्यान गुमाएका व्यक्तिहरूको चित्तशान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै काठमाडौँको बौद्धनाथ स्तुपा परिसरमा आयोजना गरिएको तीनदिने विश्व शान्ति पूजा सम्पन्न भएको छ।

बौद्ध धर्मगुरु, भिक्षु–भिक्षुणी तथा लामागुरुहरूको सहभागितामा भदौ २९ गतेदेखि सुरु भएको विशेष धार्मिक अनुष्ठान आज भदौ ३१ गते सम्पन्न भएको हो। बाढीबाट प्रभावित मानव समुदायसँगै सम्पूर्ण प्राणीको सुख, शान्ति र कल्याणको कामना गर्दै विभिन्न धार्मिक विधि, प्रार्थना तथा दीप प्रज्वलन गरिएको आयोजकले जनाएको छ।

बाढी गएको २१औँ पुण्यतिथिको अवसर पारेर श्रद्धेय क्याब्जे श्याल्पा रिन्पोछेको विशेष पहल तथा अगुवाइमा पूजा आयोजना गरिएको थियो। केरुङ, रसुवा, नुवाकोट हुँदै धादिङलगायत क्षेत्रमा बाढी र त्यसबाट सिर्जित विपत्तिमा परी ज्यान गुमाएकाहरूको स्मरणमा बौद्ध परम्पराअनुसार ‘ङोवा म्हार्मे मोन्लाम’ लगायतका धार्मिक अनुष्ठान सम्पन्न गरिएका थिए।

तीन दिनसम्म चलेको पूजामा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चित्तशान्ति र मुक्तिको कामना गरिएको थियो। साथै बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ, प्रभावित परिवारको दुःख कम होस् तथा विपत्तिबाट पीडित सबैको जीवनमा सुख, शान्ति र आशा कायम रहोस् भन्ने प्रार्थना गरिएको थियो।

विश्व शान्ति धाम लुम्बिनी नेपालको आयोजनामा भएको कार्यक्रम श्री बौद्धनाथ क्षेत्र विकास समिति र श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठी व्यवस्थापन समितिको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा काठमाडौँ महानगरपालिका–६ वडा कार्यालयसहित विभिन्न धार्मिक, सामाजिक तथा सामुदायिक संघसंस्थाले सहकार्य गरेका थिए।

कार्यक्रममा श्री बौद्ध तामाङ कल्याण गुठी, ओम तामाङ सुखदुःख सेवा गुठी, छोरङान महिला समाज, छ्योर्तेन टासी तामाङ गुम्बा, बौद्ध एकल महिला समूह, नेपाल बौद्ध शान्ति समाज, नेपाल तामाङ कलाकार संघ, नेपाल बोन बुद्धिष्ट महासंघ, विश्व बुद्धिष्ट मञ्च नेपाल, प्राचीन अनुवाद एकमात्र गुरु संघ नेपाल, टुसाल युवा क्लब बौद्ध, प्राकृतिक बौद्ध स्तुपा संरक्षण समिति, श्री साङडाग छोइलिङ गुम्बा, श्री रसुवागढी समाज सेवा काठमाडौं, नेपाल तामाङ घेदुङ रसुवा र रेपा नेपाललगायत संस्थाको सहभागिता तथा सहयोग रहेको थियो।

भदौ २९ गतेदेखि प्रत्येक दिन बिहान ७ः३० बजेदेखि १० बजेसम्म बौद्धनाथ स्तुपा परिसरस्थित ठूलो घण्टीअगाडि पूजा सञ्चालन गरिएको थियो। अन्तिम दिन विशेष धार्मिक कार्यक्रम भएकाले अनुष्ठान करिब दिउँसो १ बजेसम्म सञ्चालन गरिएको आयोजकले जनाएको छ।

पूजाको पहिलो दिन हिन्दू धर्मगुरु चिन्तामणि योगीलगायत विभिन्न धार्मिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो। विभिन्न धार्मिक समुदायका प्रतिनिधि तथा सामाजिक अभियन्ताहरूको सहभागिताले विपत्तिमा ज्यान गुमाएकाहरूप्रति सामूहिक श्रद्धा र प्रभावित परिवारप्रति ऐक्यबद्धता प्रकट गर्ने वातावरण बनेको आयोजकको भनाइ छ।

समापन समारोहमा प्रमुख गुरु परम पूजनीय क्याब्जे श्याल्पा रिन्पोछेले पूजा सफल बनाउन सहयोग गर्ने २१ वटा संघसंस्था, स्वयंसेवक तथा सहयोगी व्यक्तित्वहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले विपत्तिको पीडामा रहेका परिवारप्रति सहानुभूति व्यक्त गर्दै शान्ति र करुणाको भावनालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

समापन कार्यक्रममा सहभागी श्रद्धालुले गुरु दर्शन गर्दै वाङ अभिषेक तथा आशीर्वाद ग्रहण गरेका थिए। सहभागीलाई प्रसादसमेत वितरण गरिएको थियो।

भोटेकोशी बाढीको २१औँ पुण्यतिथिमा आयोजित यस धार्मिक अनुष्ठानले विपत्तिमा ज्यान गुमाएकाहरूको स्मरणसँगै घाइते, विस्थापित तथा प्रभावित परिवारको पीडामा धार्मिक र सामाजिक ऐक्यबद्धताको सन्देश दिएको आयोजकले जनाएको छ।

Comments are closed

Related Post