काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)द्वारा ६२ औँ राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा बाढी पहिरोलगायतका विपद, सशस्त्र द्वन्द र जेन्जी प्रदर्शनलगायत विभिन्न आन्दोलन, घटनामा परी मृत्यु भएका बालबालिका तथा किशोर किशोरीको सम्झनामा दीप प्रज्वलनको कार्यक्रमको आयोजना गरेको छ ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को आव्हानमा बालअधिकार र मानवअधिकारका क्षेत्रमा क्रियासिल व्यक्तित्वको उपस्थितीमा सिनामङ्गलस्थित शान्ति बालबालिका पार्कमा दीप प्रज्वलन गरेर बालबालिकाको स्मरण गरिएको हो । बालबालिकाको क्षेत्रमा क्रियाशील विभिन्न नागरिक सङघसंस्था सञ्जालको सहभागितामा आयोजित कार्यक्रममा अभियानका अध्यक्ष तिलोत्तम पौडेलले बालबालिकाको सुरक्षाका लागि तीनै तहका सरकार संवेदनशील हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
उहाँले भन्नुभयो,“नेपालमा भइरहने आन्दोलन द्वन्द हिंसा विपदबाट सबैभन्दा बढि पीडित र प्रभावित पर्ने वर्ग बालबालिका भएको हुनाले उहाँहरूको सुरक्षामा लगानी बढाउनुपर्छ । अहिले भोटेकोसी बाढिबाट पनि बालबालिका धेरै प्रभावित भएकोले उहाँहरुको अल्पकालिन र दीर्घकालिन सुरक्षाका बारेमा सबैले ध्यान दिनुपर्छ ।” सो अवसरमा सहभागीले भोटे कोशी बाढीमा अभिभावक विहीन भएका बालबालिका, हराइरहेका बालबालिका कुरिरहेका अभिभावक अरुलाईसमेत राज्यले सम्बोधन गर्नुपर्ने बताएका थिए ।
त्यसैगरी यस्तो विपदमा बालविवाह, बालश्रम बालबालिका बेचबिखन हुन सक्नेतर्फ चनाखो हुनुपर्ने र गर्भवती सुत्केरी र अपाङ्गता भएका बालबालिकाको सुरक्षा र संरक्षणमा विशेष ध्यान दिन आग्रह गरिएको छ । कार्यक्रममा ज्ञानकुञ्ज बाल क्लबकी पूर्व उपाध्यक्ष आयुषा पाण्डे, राष्ट्रिय बाल पैरवी परिषद्का कृष्ण शाह, विश्वास नेपालका कार्यकारी निर्देशक मधु गुरुङ, एटविन तथा समग्र बालबालिकाको क्षेत्रमा क्रियाशील सञ्जालको तर्फबाट बेनुमाया गुरुङ सिविनका कुमार भट्टराईलगायतका बालअधिकारकर्मीको सहभागीता भएको थियो ।












Comments are closed