Shopping cart

देश

असोज ८ देखि १२ सम्म अति भारी वर्षाको चेतावनी

Email :26

काठमाडौं । बंगालको खाडीमा बन्न लागेको न्यूनचापीय प्रणालीका कारण नेपालमा पनि अति भारीसम्म वर्षाको पूर्वानुमानसँगै सावधानी अपनाउन सचेत गराइएको छ । यही असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ ।

बुधबार (असोज ७)देखि नै कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने विभागको पूर्वानुमान छ । भारी वर्षासँगै बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम हुने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

भारी वर्षाको समयमा के गर्ने/नगर्ने ?
कतिपय स्थानमा बाढीपहिरो, डुबानको जोखिम रहेको र भारी वर्षासँगै धेरै क्षेत्र प्रभावित हुन सक्ने विभागले औँल्याएको छ ।

“सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटनलगायत नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,” विभागले भनेको छ ।

उक्त मौसम प्रणालीको प्रभावले देशको हिमाली भूभागमा भारीसम्म हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ । “पर्वतारोही तथा सम्बन्धित सबैले उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ,” विभागले भनेको छ ।

अर्को सरकारी निकाय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि भारी वर्षाको समयमा विभिन्न समस्या हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न भनेको छ । यसबारे आमसर्वसाधारणलाई सुसूचित गर्नुपर्ने र प्रतिकार्यका निम्ति तयारी अवस्थामा रहन प्राधिकरणले सरोकारवाला निकायलाई आग्रह गरेको छ ।

“जोखिम भएका राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायतका साधन तयारी अवस्थामा राख्ने,” प्राधिकरणले भनेको छ ।

जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवकले जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका स्थानीयलाई विपद् प्रतिकार्य गर्नुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्नेमा प्राधिकरणले जोड दिएको छ ।

“आकस्मिक बाढी आउन सक्ने खोला, खहरेका नजिकका बस्ती, पहिरोको जोखिमयुक्त स्थान र खोला/नदी किनारका बस्तीका बासिन्दाहरू बढी चनाखो हुने,” प्राधिकरणले भनेको छ ।

वर्षा र बाढीबारे जानकारी लिन ११५५ मा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ । “विपद्‌मा मद्दत माग्न १२३४, नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बल, नेपालको हटलाइन नम्बर १११४ मा सम्पर्क गर्ने,” प्राधिकरणले भनेको छ ।

नेपाल मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक पूर्वानुमान/पूर्वसूचना/चेतावनीसम्बन्धी जानकारी लिइरहन पनि प्राधिकरणले आग्रह गरेको छ ।

यस्तै, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गर्न आग्रह गरेको छ । “धानलाई मौसम सफा भएपछि मात्र काटौँ,” नार्कले भनेको छ, “पाकिसकेको धानलाई काट्नै परे सुरक्षित ठाउँमा थन्क्याऊँ ।”

हिमाली पदयात्रीलाई फर्कन सुझाव
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले उक्त प्रणालीको प्रभाव असोज ८ देखि १२ गतेसम्म पर्न सक्ने जनाएका छन् । सबैलाई सजग रहन उनले आग्रह गरेका छन् ।

उनले हिमाली क्षेत्रमा पदयात्रामा भए बिहीबार (असोज ८)भित्र फर्कन सुझाव दिएका छन् । हिमाली क्षेत्रमा पदयात्रामा जाने योजना भए नेपाल मौसम विज्ञान विभागको सूचनामा ध्यान दिन उनले भनेका छन् ।

उक्त मौसम प्रणालीको प्रभावले हिमाली भेगमा धेरै हिउँ पर्ने सम्भावना रहेको उनले उल्लेख गरेका छन् । “आगामी ८–१२ असोजको भारी वर्षाबारे जल तथा मौसम विज्ञान विभागले औपचारिक सूचना जारी गरेको छ । सबै सजग रहनुहोस्,” उनले भनेका छन्, “हिमाली क्षेत्रमा पदयात्रामा हुनुहुन्छ भने सम्भव भएसम्म बिहीबारभित्र फर्कनुहोस् । जाने योजना छ भने विभागको सूचना हेर्नुहोस् । हिमाली भेगमा धेरै हिउँ पर्ने सम्भावना भएकोले जोखिम बढाउन सक्छ ।”

Comments are closed

Related Post