काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीका बुद्धसँग सम्बन्धित क्षेत्रहरू समेट्ने ‘ग्रेटर लुम्बिनी’ (बृहत् लुम्बिनी क्षेत्र विकास) परियोजनाका लागि विश्व बैंकले ८५ मिलियन अमेरिकी डलर (करिब १२ अर्ब ३५ करोड रुपैयाँ) ऋण दिने निर्णय गरेको छ ।
लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईका अनुसार, नेपाल सरकारको प्रस्तावअनुसार विश्व बैंकको बोर्ड बैठकले यो ऋण स्वीकृत गरेको हो । अब मन्त्रिपरिषद्ले ऋण लिन स्वीकृति दिएपछि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता हुनेछ ।
परियोजनाले लुम्बिनी, देवदह, तिलौराकोट र रामग्राम जस्ता मुख्य बौद्ध सम्पदाहरूको विकासमा जोड दिनेछ । यसअन्तर्गत सडक, नाली, बसपार्क, विद्युतीकरण, ध्यान केन्द्र, विश्रामस्थल, सूचना केन्द्र, स्थानीय उत्पादन बिक्री केन्द्र लगायत पर्यटकीय पूर्वाधार निर्माण तथा सम्पदा संरक्षणमा रकम खर्च हुनेछ ।

पर्यटन मन्त्रालय र सहरी विकास मन्त्रालयको नेतृत्वमा कार्यान्वयन हुने यो परियोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह, रामग्राम र कपिलवस्तु नगरपालिका, पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष तथा पर्यटन बोर्ड सहभागी हुनेछन् ।
पूर्वअर्थमन्त्री विष्णु पौडेलको पहलमा अगाडि बढाइएको यो परियोजनाले धार्मिक पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण, रोजगारी सिर्जना तथा दिगो आर्थिक विकासलाई लक्ष्य राखेको छ । परियोजना पहिलो चरणमा मुख्य बौद्ध स्थलहरू केन्द्रित रहनेछ ।














Comments are closed