काठमाडौं । आज घोडेजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिएको छ । नेपाली सेनाबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गर्नेछ ।
टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेपछि घोडाको टापले कुल्चिने परम्पराका रुपमा घोडे जात्रा मनाउने गरिएको विश्वास छ । आजकै दिन ललितपुरमा पनि एउटा घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
नेपाली सेनाद्वारा आयोजित उक्त कार्यक्रममा अश्वकला, शारीरिक व्यायाम, युद्धकला तथा अनुशासन प्रदर्शन गरिँदै छ । परम्परा र आधुनिक सैनिक कौशलको समिश्रण झल्काउने यस प्रदर्शनले हरेक वर्ष दर्शकको ध्यान आकर्षित गर्दै आएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित उच्चपदस्थ सरकारी अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति रहने गर्दछ ।














Comments are closed