Shopping cart

  • Home
  • समाज
  • मध्यपूर्वमा रहेका १७ लाख २९ हजार नेपालीको उद्धार गर्न नेपाल सरकारले थाल्यो काम
अन्तर्राष्ट्रिय

मध्यपूर्वमा रहेका १७ लाख २९ हजार नेपालीको उद्धार गर्न नेपाल सरकारले थाल्यो काम

Email :76

काठमाडौं । नेपाल सरकारले मध्यपूर्वमा रहेका १७ लाख २९ हजार नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ । अमेरिका र इजरायलको संयुक्त आक्रमणका क्रममा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीईको निधन भएको छ । यसको बदला लिन भन्दै इरानले जवाफी आक्रमण गरिरहेको छ । यसले त्यहाँ रहेका नेपालीको सुरक्षाको चिन्ता बढाएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नजिकबाट नियालिरहेको र त्यहाँ रहेका १७ लाख  २९ हजार २८८ नेपालीको सुरक्षा उच्च प्राथमिकतामा राखेको जानकारी दिएका हुन् ।

शनिबार बिहानबाट सुरु भएको अमेरिका/इजरायल र इरानबीचको युद्धले मध्यपूर्वमा द्वन्द्व चर्किएको छ । अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि इरानले कुवेत, युनाइटेड अरब इमिरेट्स, साउदी अरब, बहराइन, ओमान, कतारलगायतका देशमा रहेका अमेरिकी सैन्य बेसहरूमा आक्रमण थालेको छ । जसले ती देशमा कार्यरत नेपालीको सुरक्षा चासो बढेको हो ।

वैदेशिक रोजगारीका लागि नेपालीको प्रमुख गन्तव्य मुलुक मानिएका ती देशमा द्वन्द्व चर्किएको हो । नेपालीको सुरक्षालाई उच्च प्राथमकिता दिँदै काम गरेको बताउँदै पत्रकार सम्मेलनमा खड्काले भने, ‘मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा छ । यस प्रयोजनको लागि हामीले विभिन्न प्रक्रियाको थालनी गरेका छौँ ।’

मध्यपूर्वमा १७ लाख  २९ हजार २८८ नेपाली रहेका जानकारी दिएका उनले भने, ‘इरानमा रहेका १० जनामध्ये ४ जना फर्किसक्नु भएको छ । ६ जना हुनुहुन्छ ।’

उनका अनुसार इजरायलमा करिब ६ हजार ५००, इजिप्टमा ५००, ओमानमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९१३, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरबमा ३ लाख ८४ हजार ८६५, यूएईमा लगभग ७ लाख, लेबनानमा १ हजार ५००, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपाली रहेका छन् ।

उनीहरुको आपत्कालीन उद्धारको लागि योजना बनाउन सुरु गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  ‘कन्सुलर सेवा विभागलाई अनुरोध गरिसकेका छौँ । आकस्मिक घटना भयो । अब नेपाली नागरिकहरूको उद्धार गर्नुपर्ने हुनसक्छ । त्यस प्रयोजनको लागि र उहाँहरूको अवस्थाको जानकारी लिने प्रयोजनको लागि पनि रजिष्ट्रेसन प्लाट फर्म विकास गर्ने काम उहाँहरूले सुरु गरिसक्नु भएको छ । सायद यो भोलिसम्ममा तयार हुन्छ र सबै नेपाली नियोगहरूको वेबसाइटमा त्यो हामी राख्नेछौँ । नेपालीहरूले त्यसमा आफ्नो डेटा राखेर रजिष्ट्रेसन गर्न सजिलो हुन्छ,’ प्रमुख रामकाजी खड्काले भने ।

उनका अनुसार, सँगसँगै एउटा एप पनि विकास गरिएको छ । त्यो पनि भोलि/पर्सीसम्म वेबसाइटमा उपलब्ध हुनेछ ।  ‘परराष्ट्रले एउटा ह्वाट्सएप ग्रुप बनाएको छ । परराष्ट्र र सम्बन्धित देशका राजदूत र नियोग प्रमुख त्यसमा हुनुहुन्छ । यसमा भएका घटनाहरू तत्काल राखिन्छ । नेपालीहरू कसैलाई समस्या आइपरेमा त्यो कुरा पनि त्यही अपडेट गरिन्छ,’ उनले भने ।

Comments are closed

Related Post