Shopping cart

  • Home
  • राजनिती
  • अमेरिकी भिसाका लागि नेपालीले २१ लाख ६६ हजार नेपाली रुपैयाँ सम्म धरौटी बुझाउनुपर्ने
अन्तर्राष्ट्रिय

अमेरिकी भिसाका लागि नेपालीले २१ लाख ६६ हजार नेपाली रुपैयाँ सम्म धरौटी बुझाउनुपर्ने

Email :89
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले नेपाललाई भिसा बन्ड पाइलट कार्यक्रममा समावेश गरेसँगै नेपाली नागरिकले बी १ (बिजनेस) र बी २ (भिजिट) भिसा प्राप्त गर्न धरौटी राख्नुपर्ने भएको छ। यो नियम आउँदो जनवरी २१ (माघ ७) देखि लागू हुनेछ।

यो नियमअनुसार भिसा अन्तर्वार्तामा योग्य ठहरिएका आवेदकले कन्सुलर अफिसरको निर्णयबमोजिम ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर (करिब ७ लाख २२ हजारदेखि २१ लाख ६६ हजार नेपाली रुपैयाँ) धरौटी बुझाउनुपर्नेछ। धरौटी बुझाउन अमेरिकी अध्यागमन तथा भन्सार कार्यालय (आइसिई) को फाराम आई-३५२ भरी आधिकारिक पोर्टल Pay.gov मार्फत मात्र भुक्तानी गर्नुपर्नेछ। तेस्रो पक्षको वेबसाइटबाट भुक्तानी स्वीकार गरिने छैन।

धरौटी रकम भिसा अवधि सकिएर समयमै अमेरिका छाडेमा वा यात्रा नगरेमा वा भिसा अस्वीकृत भएमा फिर्ता हुनेछ। तर भिसा अवधि बढाएर ओभरस्टे गरेमा, अन्य प्रकारको भिसा आवेदन दिएमा वा शरणार्थी प्रक्रियामा गएमा धरौटी जफत हुनेछ।

यसैगरी, धरौटी बुझाउनेहरूले अमेरिका प्रवेश र प्रस्थान तोकिएका तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलमात्र प्रयोग गर्नुपर्नेछः बोस्टन लोगान इन्टरनेसनल एयरपोर्ट, न्यूयोर्कको जोन एफ. केनेडी इन्टरनेसनल एयरपोर्ट र वासिङ्टन डुलिस इन्टरनेसनल एयरपोर्ट। अन्य विमानस्थलबाट प्रवेश वा प्रस्थान गरेमा प्रवेश अस्वीकृत हुन सक्नेछ।

यो पाइलट कार्यक्रम भिसा ओभरस्टे दर उच्च भएका देशहरूलाई लक्षित गरी लागू गरिएको हो। धरौटी बुझाउँदा पनि भिसा प्राप्तिको ग्यारेन्टी नहुने र कन्सुलर अफिसरको निर्देशनबिना बुझाएको रकम फिर्ता नहुने अमेरिकी मन्त्रालयले स्पष्ट पारेको छ।

Comments are closed

Related Post