काठमाडौं । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बैतडीको विकट गाउँमा सेवा गरिरहेकी अनमी जानकी पुजाराको कामको प्रशंसा गर्दै सामाजिक सञ्जालमार्फत सम्मान प्रकट गरेका छन्।
बैतडीको सिगास गाउँपालिका–४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र, कान्धारमा कार्यरत जानकीले स्वासप्रस्वासमा गम्भीर समस्या देखिएकी एक शिशुको ज्यान बचाएकी थिइन्।
शिशुलाई लगातार ६ घन्टा मुखबाट अक्सिजन दिएर मृत्युको मुखबाट बचाएकी पुजाराको यतिबेला चर्चा छ।
बिहीबार ६ घण्टा मुखबाटै अक्सिजन दिएर अनमी पुजाराले शिशुको ज्यान बचाउन सफल भएकी थिइन्। बिहीबार राति २० वर्षीया महिलाले शिशुलाई जन्म दिएकी थिइन्। शिशुको श्वास निकै सुस्त चल्न थालेपछि स्थलमार्ग र हवाइमार्गबाट समेत उद्धारको अवस्था नभएको अवस्थामा अनमी पुजाराले शिशुलाई मुखबाटै श्वास दिएर ज्यान जोगाएकी हुन्।
भौगोलिक कठिनाइका कारण अस्पताल लैजान नसकिएको अवस्थामा उनले देखाएको तत्परताले एक नवजातको जीवन रक्षामा ‘भगवानसरह’ भूमिका खेलेको भन्दै मन्त्री पौडेलले फोन गरेर व्यक्तिगत रूपमा बधाईसमेत दिएका थिए।
मन्त्री पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, “तमाम असहज र कठिनाइका बाबजुद हामीले स्थानीय तहदेखि प्रदेश र संघका स्वास्थ्य संस्थाको सेवा सुधार तथा विस्तारमा यथाशक्य प्रयत्न गरिरहेका छौं । यस्तोमा नागरिकको जीवनरक्षामा अनवरत खटिइरहने स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण हात छ ।”
उनले जानकी जस्ता स्वास्थ्यकर्मीहरूप्रति श्रद्धा प्रकट गर्दै भनेका छन्, “सुख र सुविधा नभनी देशको स्वास्थ्य रक्षामा तल्लिन जानकी र अरु धेरै जानकीहरुप्रति मेरो हृदयदेखी नै सम्मान छ । देशलाई साँच्चै तपाईंहरुजस्तै स्वास्थ्यकर्मीको खाँचो छ । तपाईंहरुको योगदानको पक्कै मूल्यांकन हुनेछ ।”
स्वास्थ्य सेवा प्रणालीको सुधारका लागि सरकार प्रयासरत रहेको उल्लेख गर्दै मन्त्री पौडेलले विशेषगरी विकट तथा दुर्गम स्थानमा सेवा दिइरहेका स्वास्थ्यकर्मीहरूको योगदान अमूल्य रहेको बताएका छन्।
शिशुको जीवनरक्षा मात्र नभई जनस्वास्थ्यमा निरन्तर खटिने स्वास्थ्यकर्मीहरूका लागि मन्त्रीको यस्तो सम्मानजनक टिप्पणीले थप उत्साह र प्रेरणा मिल्ने विश्वास लिइएको छ।













Comments are closed