Shopping cart

  • Home
  • समाज
  • ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषा बनाउँदै इलामको माङसेबुङ गाउँपालिका
देश

‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषा बनाउँदै इलामको माङसेबुङ गाउँपालिका

Email :219

इलाम । इलामको माङसेबुङ गाउँपालिकाले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषा बनाउने तयारी गरेको छ । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा ‘लिम्बू र मैथिली भाषा’ लाई कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको बेला माङसेबुङले पनि ‘लिम्बू भाषा’ लाई कामकाजीको रुपमा प्रयोगमा ल्याउन लागेको हो ।

माङसेबुङ गाउँपालिकामा बहुसङ्ख्यक जनताले बोल्ने ‘लिम्बू भाषा’ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गर्न लागिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए ।लिम्बू भाषा किरात सिरिजङ्गा लिपिमा लेखिने गरिन्छ ।

त्यसका लागि माङसेबुङले लिम्बू भाषिक कर्मचारी नियुक्त गर्ने तयारी गरेको छ । ‘लिम्बू भाषा’ लाई कामकाजी भाषाका रुपमा कार्यान्वयन गर्न सहजीकरणका लागि एक जना भाषिक सहजकर्ता (सहायक पाँचौ) नियुक्त गर्न लागिएको अध्यक्ष राईले बताए ।

‘हामीले गाउँपालिकामा ‘लिम्बू भाषा’ लाई कामकाजी भाषाका रुपमा प्रयोगमा ल्याउने तयारी गरेका छौं, त्यसका लागि पाँचौ तहको करारमा भाषिक सजकर्ता नियुक्त गर्न लागेका हौं’, अध्यक्ष राईले भने, ‘पहिले हामी भाषिक सहजकर्ता छनौटको परीक्षा गर्छौं, त्यसपछि गाउँपालिकाभर ‘लिम्बू भाषा’ लाई कामकाजीको रुपमा प्रयोग गर्न थाल्नेछौं ।’ खुला प्रतिष्पर्धाका लागि आवेदन आह्वान गरिएकोमा ६ जनाको आवेदन परेको छ । यही २०८२ भदौ ४ गते छनौट परीक्षा सञ्चालन गरी भाषिक सहजकर्ता नियुक्त गर्ने उनले बताए ।

माङसेबुङ गाउँपालिकाको ‘भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास कार्यान्वयन निर्देशिका २०७५’ र ‘माङसेबुङ गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७४’ बमोजिम भाषिक सहजकर्ता नियुक्त गरिने प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले बताए ।

माङसेबुङ गाउँपालिकाको संगठन तथा व्यवस्थापन (ओएनएम) मा नै समावेश गरी भाषिक सहजकर्ता नियुक्त गर्न लागिएको उनले बताए । ‘भाषिक सहजकर्ताको दरबन्दी ओएनएममा समावेश गरी स्वीकृत गरेर नियुक्त गर्न लागेका छौं’, प्रमुख प्रशासकीय अधिकृत राईले भने । भाषिक सहजकर्ताले नेपाली र लिम्बू दुवै भाषामा अनुवादकको काम गर्नेछ ।

कर्मचारी नियक्त गरेपछि तत्कालै एक औपचारिक कार्यक्रम गरी माङसेबुङ गाउँपालिकामा ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी घोषणा गरी लागू गरिने अध्यक्ष राईले बताए । लिम्बू जातिको बाहुल्यता रहेको माङसेबुङमा बाहुल्य समुदायको सम्मानका लागि नेपालमै पहिलो पटक ‘लिम्बू भाषा’ कामकाजी बनाउन लागिएको उनको भनाइ छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार १६ हजार आठ सय १० जनसङ्खया रहेको माङसेबुङमा ४२.८३ प्रतिशत लिम्बू र ३३.६ प्रतिशत राई जातिको बसोबास छ । जातीय र भाषिक बाहुल्यताका आधारमा माङसेबुङले वि.स. २०७५ साल मङ्सिर १३ गतेदेखि ५ नं. वडा कार्यालयमा ‘लिम्बू भाषा’ लाई कामकाजी घोषणा गरी लागू गरिसकेको छ । सो वडामा २०७६ मा नै एक जना भाषिक सहजकर्ता (सहायक चौथो) नियुक्त गरिएको गाउँपालिकाले जनाएको छ ।

Comments are closed

Related Post