तनहुँ । इलामको रोङ गाउँपालिकाको सफल अभ्यासबाट प्रेरणा मिलेपछि तनहुँको भानु नगरपालिकाले स्थानीय स्तरमा उत्पादित गुन्द्रुकलाई ‘भानु गुन्द्रुक’ को नाममा ब्राण्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ।
नगर प्रमुख आनन्दराज त्रिपाठीका अनुसार, ‘कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग’ परियोजना अन्तर्गत यो योजना अगाडि बढाइएको हो। भानुले स्थानीय उत्पादनलाई नयाँ ढङ्गले बजारीकरण गर्ने नीति लिएको त्रिपाठीले बताए।
योजनाअन्तर्गत गुन्द्रुक उत्पादन, प्रशोधन र बजारीकरणमा आधुनिक प्रविधि र व्यवस्थापन प्रणाली अपनाइनेछ। यसका लागि स्थानीय कृषक समूहको क्षमता अभिवृद्धि गर्ने, उत्पादनको गुणस्तरमा एकरूपता ल्याउने, आकर्षक प्याकेजिङ र लेबलिङमा सुधार गर्ने तथा ‘भानु गुन्द्रुक’ लाई राष्ट्रियस्तरको ब्राण्डको रूपमा स्थापित गर्ने लक्ष्य छ।
यसका साथै, उत्पादनको ‘ट्रयाकिङ’, अनलाइन बिक्री प्रवर्द्धन, डिजिटल मार्केटिङ र क्यूआर कोडमार्फत गुन्द्रुकको स्रोत पहिचान गर्ने जस्ता प्रविधि पनि प्रयोग गरिने नगरपालिकाले जनाएको छ।
‘गाउँको जीवनशैली, संस्कृति र आपसी आत्मीयता हाटबजारमै प्रतिबिम्बित हुन्छ, जसले वातावरणलाई जीवन्त बनाउँछ,’ नगर प्रमुख त्रिपाठीले भने, ‘हामी स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै किसान र उपभोक्ताबीचको सम्बन्धलाई बलियो बनाउनेछौँ।’













Comments are closed