काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले पार्टीले देश र जनतालाई केन्द्रमा राखेर सामाजिक-आर्थिक रूपान्तरणको एजेन्डासहित काम गरिरहेको दाबी गरेका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित डिजिटल सदस्यता वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सहसंयोजक नेपालले केही व्यक्तिहरूले पार्टीका विरुद्ध योजनाबद्ध रूपमा नकारात्मक प्रचार गरिरहेको भन्दै त्यस्ता भ्रमहरूमा नपर्नका लागि सम्पूर्ण पार्टीपङ्क्तिलाई आग्रह समेत गरे । उनले देशलाई केन्द्रबिन्दुमा राख्ने, जनताका मुद्दालाई प्राथमिकतामा राख्ने र समाजमा आमूल परिवर्तन ल्याउने लक्ष्यसहित पार्टी संरचना गठनको कार्य तीव्र गतिमा अघि बढिरहेको स्पष्ट पारे ।
पार्टीको वैचारिक लाइन र सङ्गठन निर्माणबारे चर्चा गर्दै उनले भने, ‘कोही कोही मान्छेहरू नकारात्मक प्रचार गरेर हिँडिरहेका छन् । तर हामीले बुझिरहेका छौँ जुन पार्टी देशलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्दछ, जुन पार्टी जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्छ, जुन पार्टी विश्वास भावले समाजमा आमूल परिवर्तनको सामाजिक आर्थिक रूपान्तरणको एजेण्डा लिएर अगाडि बढ्छ । अहिले हामी नेपाली समाजमा आधारित वैज्ञानिक समाजवाद अङ्गालेर अगाडि बढिरहेका छौँ । यस अर्थमा पनि हामी लामो समयदेखि छलफल चलाइरहेका छौँ । यो सबै कुरालाई समेटेर हामी पार्टीको विधानलाई अन्तिम रूप पनि दिनेछौँ ।’
सहसंयोजक नेपालले नेपाली समाजको वस्तुगत यथार्थ र आवश्यकतालाई सम्बोधन गर्ने गरी वैज्ञानिक समाजवादको अवधारणालाई अघि सारिएको उल्लेख गरे । यही सैद्धान्तिक जगमा उभिएर पार्टीको विधानलाई अन्तिम रूप दिने अन्तिम तयारी भइरहेको समेत उनले जानकारी दिए । पार्टीलाई वैचारिक र साङ्गठनिक रूपमा थप मजबुत बनाएर जनताको लोकप्रिय शक्तिका रूपमा स्थापित गराइने उनको दृढता थियो ।














Comments are closed