लेखनाथ सिकारू
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को आगामी निर्वाचनका लागि वरिष्ठ पर्यटन व्यवसायी कुलबहादुर गुरुङले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। भदौ ७ गते (अगस्ट २३) मा हुने भनिएको संघको निर्वाचनका लागि उनले आफ्नो उम्मेदवारी सार्वजनिक रूपमा घोषणा गरेका हुन्।
हिमाल र हिमालसंँग जोडिएका हरेक चुनौति, अवसर र मुद्दालाई नजिकबाट नियालेको र बुझेका गुरुङले संघको अघिल्लो कार्यकालमा महासचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।
पर्यटन व्यवसायको क्षेत्रमा लामो समयदेखि सङ्गालेको अनुभव, काम गर्ने योग्यता र क्षमता प्रदर्शन गर्नको लागि नेतृत्वमा आउन चाहेको उम्मेदवार गुरुङको दावी छ ।

नेपालको पर्वतीय पर्यटनको दिगो विकास, श्रमिक तथा व्यवसायीहरूको हकहित संरक्षण र संस्थागत सुधारका उद्देश्यसहित आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको गुरुङले बताए।
तीन दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय गुरुङ देश तथा विदेशमा नेपालको हिमाली सम्भावना चिनाउने, पर्वतारोहणको सुरक्षित व्यवस्थापन गर्नेसहित सम्बन्धित समुदायको सशक्तीकरणमा पनि निरन्तर क्रियाशील रहँदै आएका छन्।
पर्वतीय पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरमै व्यापक प्रचारप्रसार लगायतमा योगदान गर्न र पर्वतीय पर्यटन क्षेत्रमा गनुपर्ने धेरै कामहरु आफूले देखेको र ती कामहरु पूरा गर्न आफ्नो उम्मेद्वारी रहेको गुरुङको अठोट छ ।
गुरुङले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)मा पूर्वउपाध्यक्ष, इन्टरनेसनल क्लाइम्बिङ एण्ड माउन्टेनरिङ फिडिरेसन मा व्यवस्थापन समितिका पूर्वसदस्य, गुरुङ टुरिज्म इन्टरप्रेनर्स एसोसिएसन नेपाल (जिटिन)मा संस्थापक अध्यक्ष, गणेश हिमाल टुरिज्म डेभलपमेन्ट काउन्सिलमा संस्थापक अध्यक्ष, क्लाइमेट एलाइन्स अफ हिमालयन कम्युनिटिजमा सचिवलगायत विभिन्न क्लब तथा संघसंस्थाहरुमा विभिन्न जिम्मेवारी पूरा गरिसकेका छन् ।

सगरमाथा सफाई अभियान, सगरमाथाको फोहोर संकलन, कोभिडबाट प्रभावित आरोहीलाई राहत विरतण, संघको भवन निर्माण, अन्नपूर्ण आधार शिविरमा रेस्क्यू सेन्टर निर्माण, अन्तर्राष्ट्रिय स्तरमा पर्वतीय पर्यटनको प्रचारप्रसार लगायतमा उनको सक्रीयता उल्लेख्य रह्यो ।

पर्वतीय तालिम गुणस्तरमा बृद्धि, पर्यटन मजदूरको हकहितमा काम गर्नका साथै एसियाली पर्वतारोहण महासंघ (यूएएए) र विश्व पर्वतारोहण महासंघ (यूआएए) संग मिलेर पर्वतीय पर्यटन विकास लगायतमा सक्रीय भूमिका आफूले खेलेको बताउँछन् ।

निर्वाचनमा लोकतान्त्रिक पर्यटन व्यवसायी संघको तर्फबाट गुरुङलाई अध्यक्ष पदका लागि सर्वसम्मत अघि सारिएको छ ।
गुरुङ सफल यूवा व्यवसायीमात्रै नभएर एकेडेमिक व्यक्तित्व हुन् । एनएमएको नेतृत्वमा उनको उपस्थितिले पर्वतीय पर्यटन क्षेत्रको नीतिगत सुधारसँगै व्यवसायिक तथा पेशागत हकअधिकार सुनिश्चिततामा मद्दत पुग्ने विश्वास उनी पक्षका व्यवसायीहरुको छ ।
गुरुङको उम्मेद्वारीलाई साझा बनाउन अन्य राजनीतिक दल निकट पर्यटन व्यवसायीहरु र स्वतन्त्र व्यवसायीहरुकोसमेत कसरत छ ।

संघको नेतृत्व सम्हाल्नको लागि गुरुङ समुहमा बरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ ,प्रथम उपाध्यक्षमा मिङ्मा डेविड शेर्पा ,द्वितिय उपाध्यक्षमा धनबहादुर गुरुगुरुङ।महासचिवमा विमल नहर्की सचिवमा ङीमा दिकी शेर्पा,कोषध्यक्षमा सुमी लामा रहेका छन् ।














Comments are closed