Shopping cart

अन्तर्राष्ट्रिय

को हुन् निकोलश मादुरो ?

Email :112

जेसन बुर्के

 

पूर्व बस चालक र ट्रेड युनियनका नेता निकोलश मादुरोले सामान्य पृष्ठभूमिबाट उदाएर १३ वर्ष ८ महिनासम्म भेनेजुएलामा शासन गरे। शनिबार अमेरिकी विशेष बलद्वारा गरिएको आकस्मिक कारबाहीमा ६३ वर्षीय मादुरोलाई पक्राउ गरी न्युयोर्क लगियो। यससँगै उनको शासन अचानक अन्त्य भयो।

 

मादुरोले सन् १९९९ मा उनका दिवंगत गुरु तथा पूर्ववर्ती राष्ट्रपति ह्युगो चाभेजले सुरु गरेको समाजवादी क्रान्तिलाई कमजोर पार्न अमेरिकी सरकारले षड्यन्त्र गरिरहेको आरोप लगाउँदै आएका थिए। अब अमेरिकी हिरासतमा पुगेपछि उनले लागूऔषध (नार्कोटिक्स) सम्बन्धी अभियोगको सामना गर्नुपर्नेछ र लामो जेल सजायको सम्भावना छ।

 

मादुरोलाई भेनेजुएलाली जनताले पनि मूल्यांकन गर्नेछन्। उनको शासनकालले भेनेजुएलाको अर्थतन्त्र ध्वस्त बनायो, जसका कारण लाखौँ नागरिक अयोग्य, भ्रष्ट, दमनकारी र प्रायः क्रूर सरकारबाट बच्न देश छोडेर विदेश पलायन हुन बाध्य भए।

 

२३ नोभेम्बर १९६२ मा जन्मिएका मादुरोले आफ्नो राजनीतिक यात्रा काराकासको बाहिरी क्षेत्र एल भ्याले भन्ने श्रमिक वर्गको बस्तीमा रहेको होसे आवालोस माध्यमिक विद्यालयको विद्यार्थी संघको अध्यक्ष बनेर सुरु गरेका थिए। अभिलेखअनुसार उनले विद्यालय पूरा नगरे पनि उनी प्रभावशाली र समन्वयकारी व्यक्तित्वका रूपमा सम्झिइन्छन्।

सन् १९८६ मा उनी क्युबा गए, जहाँ माध्यमिक शिक्षापछि प्राप्त गरेको एकमात्र औपचारिक शिक्षा उनले त्यहीँ लिए। फर्किएपछि उनले काराकासको मेट्रो प्रणालीमा बस चालकका रूपमा काम गरे र चाँडै नै—आफ्ना बाबुजस्तै—युनियन नेता बने। त्यही क्रममा उनी ह्युगो चाभेजका कट्टर समर्थक बने।

 

१९९० को दशकको मध्यतिर, असफल र रक्तपातपूर्ण सैनिक कू प्रयासपछि राष्ट्रपति क्षमादान पाएका चाभेजले संगठित गरेको राजनीतिक आन्दोलनमा मादुरो सहभागी भए। १९९८ मा चाभेज सत्तामा पुगेपछि मादुरोको निष्ठा, राजनीतिक कौशल र वैचारिक प्रतिबद्धताले उनलाई सत्तारूढ दलभित्र छिट्टै माथि उठायो। छ वर्ष राष्ट्रिय सभामा बिताएपछि मादुरोलाई विदेश मन्त्री बनाइयो र त्यसको छ वर्षपछि उनी उपराष्ट्रपति नियुक्त भए।

 

२०१३ मा क्यान्सरका कारण चाभेजको मृत्यु भएपछि उनले दाह्रीजुँगा भएका, भारी शरीरका मादुरोलाई आफ्नो उत्तराधिकारी घोषणा गरे। धेरैले मादुरोको श्रमिक वर्गीय पृष्ठभूमिको खिल्ली उडाए र उनलाई चाभेजको उग्र भाषण शैली जस्ताको तस्तै दोहोर्‍याउने मुखर विदूषकका रूपमा चित्रित गरे।

 

चाभेजजस्तो करिश्मा मादुरोसँग नहुनु सत्य भए पनि, उनले त्यस वर्ष साँघुरो मतान्तरले जित हासिल गर्दै पहिलो छ वर्षे कार्यकाल सुरक्षित गरे।

तर उनको राष्ट्रपतिकाल लगभग तुरुन्तै संकटमा फस्यो। हाल नोबेल शान्ति पुरस्कार विजेता बनेकी मारिया कोरिना माचाडोसहितको राजनीतिक विपक्षले काराकास र अन्य शहरमा सडक प्रदर्शन सुरु गर्‍यो। सुरक्षा बलहरूले निर्ममतापूर्वक ती प्रदर्शन दमन गरे, जसमा ४३ जनाको मृत्यु र दर्जनौँ गिरफ्तारी भए।

 

२०१५ को निर्वाचनमा भेनेजुएलाको सत्तारूढ युनाइटेड सोसलिस्ट पार्टी ले १६ वर्षमा पहिलोपटक राष्ट्रिय सभामाथिको नियन्त्रण गुमायो। यसपछि मादुरोले २०१७ मा सरकार समर्थक संविधान सभा गठन गरी विपक्षी-नियन्त्रित संसदलाई निष्क्रिय बनाए। यसले फेरि विरोध प्रदर्शन भड्कायो, जुन पनि हिंस्रक रूपमा दबाइयो।

 

यस क्रममा सयौँ पक्राउ परे र अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) ले मादुरो र उनका सहयोगीहरूविरुद्ध मानवता विरुद्धका अपराधको अनुसन्धान सुरु गर्‍यो। प्रदर्शनका क्रममा १०० भन्दा बढी मारिए र हजारौँ घाइते भए। २०१८ मा मादुरोमाथि हत्या प्रयास पनि भयो, जब काराकासमा राष्ट्रिय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको सैनिक परेडका क्रममा विस्फोटकजडित ड्रोन नजिकै विस्फोट भए।

 

यस समयसम्म अर्थतन्त्र पूर्ण रूपमा धराशायी भइसकेको थियो। अत्यधिक मुद्रास्फीति र आधारभूत आवश्यक वस्तुको अभावले देश आक्रान्त थियो। तेल उत्पादन घटेर दिनको ४ लाख ब्यारेलभन्दा कम पुगेको थियो—जुन कुरा पहिले कल्पनै गर्न नसकिने थियो। २०१८ को राष्ट्रपति चुनावमा मादुरो निर्विरोध उभिए र विजेता घोषित भए, तर दर्जनौँ देशहरूले उनलाई मान्यता दिएनन्। विपक्षी दलहरूलाई चुनावमा भाग लिन दिइएन। केही नेता जेल परे भने अन्य निर्वासनमा गए।

 

वासिंटनले यसलाई नजिकबाट नियालिरहेको थियो। ट्रम्पको पहिलो प्रशासनले मादुरो, उनका सहयोगीहरू र सरकारी कम्पनीहरूमाथि आर्थिक प्रतिबन्ध लगायो, तर यसले सैन्य, अर्धसैनिक र पार्टी संरचनामा आधारित उनको समर्थन प्रणालीलाई खासै कमजोर बनाउन सकेन। तर यसले गम्भीर टकरावको सम्भावना भने स्पष्ट बनायो। चारैतिरबाट दबाब बढेपछि मादुरोले केही आर्थिक सुधार लागू गरे र अमेरिकी समर्थन प्राप्त विपक्षीसँग आंशिक सम्झौता गरे, जसले २०२४ मा स्वतन्त्र र लोकतान्त्रिक निर्वाचन हुने आशा जगायो।

 

तर ती आशा चाँडै टुटे। २०२३ मा सरकारले मादुरोका सबैभन्दा बलिया प्रतिस्पर्धी माचाडोलाई उम्मेदवार बन्न प्रतिबन्ध लगायो। २०२४ को सुरुमा विपक्षी नेता र मानवअधिकारकर्मीहरूमाथि थप दमन सुरु भयो।

२०२४ को चुनावमा मतदान सकिएको केही घण्टामै राष्ट्रिय निर्वाचन परिषद्ले मादुरोलाई विजेता घोषणा गर्‍यो, तर विस्तृत मतगणना सार्वजनिक गरेन। विपक्षीले ८०% भन्दा बढी मतदान मेसिनबाट संकलन गरेका नतिजाले मादुरोको भारी पराजय देखाएको थियो। प्रदर्शनहरू दमन गरिए र जनवरी २०२५ मा राष्ट्रिय सभाले मादुरोलाई तेस्रो कार्यकालका लागि सपथ गरायो।

 

त्यही महिनामा ट्रम्प पुनः ह्वाइट हाउस फर्किएपछि तनाव तीव्र भयो। गर्मीयामसम्म अमेरिकाले क्यारिबियन क्षेत्रमा ठूलो सैन्य उपस्थिति बनायो र ‘नार्को–आतंकवाद’ विरुद्ध कठोर कदम चाल्दै लागूऔषध बोकेको आशंकामा डुंगाहरू उडायो, जसमा १०० भन्दा बढीको मृत्यु भयो।

 

मादुरो प्रायः आफ्नी पत्नी सिलिया फ्लोरेससँग देखिन्थे, जसले महान्यायाधिवक्ता र संसद प्रमुखलगायत उच्च पद सम्हालेकी थिइन् र शक्तिशाली निर्णायक पात्र मानिन्थिन्। उनी पनि अमेरिकी नियन्त्रणमा परेको आशंका गरिएको छ। मादुरोको जिद्दी स्वभाव र रणनीतिक चातुर्यले उनका विरोधीहरूलाई पटक–पटक चकित पारेको थियो। तर यसपटक पुनरागमन हुने संकेत देखिँदैन।– (द गार्जियनबाट)

Comments are closed

Related Post