Shopping cart

  • Home
  • समाज
  • नेपाली कांग्रेस १५औँ महाधिवेशन: अछामका ९१ वटै वडामा अधिवेशन सम्पन्न
देश

नेपाली कांग्रेस १५औँ महाधिवेशन: अछामका ९१ वटै वडामा अधिवेशन सम्पन्न

Email :21

​अछाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत अछाम जिल्लाका दुवै निर्वाचन क्षेत्र (क्षेत्र नं. १ र क्षेत्र नं. २) मा गत असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशन उत्साहजनक रूपमा सम्पन्न भएको छ। नेपाली कांग्रेस १५औँ महाधिवेशन निर्वाचन निर्देशिका, २०८३ बमोजिम जिल्लाभरका सबै ९१ वटा वडाहरूमा नयाँ नेतृत्व चयन गर्दै अधिवेशन भव्यताका साथ सम्पन्न भएको हो।

​अधिवेशन समापनका अवसरमा आइतबार मंगलसैन नगरपालिका वडा नं. ५ का नवनिर्वाचित प्रतिनिधिहरूलाई केन्द्रीय निर्वाचन अधिकृत अधिवक्ता भोविन्द्र बहादुर शाहले खादा, अबिर तथा प्रमाणपत्र प्रदान गर्नुभयो।

​पूर्व प्रतिनिधि सभा सदस्य एवं पार्टी सभापति पुष्प बहादुर शाहको प्रमुख आतिथ्यता तथा प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री मान बहादुर रावल लगायत अग्रज नेता, कार्यकर्ता र प्रतिनिधिहरूको गरिमामय उपस्थितिमा औपचारिक प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको थियो।

​कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति पुष्प बहादुर शाहले अछाममा देखा परेको कार्यकर्ताको व्यापक र उत्साहजनक सहभागिताको उच्च प्रशंसा गर्नुभयो। पार्टीको आधिकारिकताबारे प्रष्ट पार्दै उहाँले भन्नुभयो, “आधिकारिक नेपाली कांग्रेस भनेकै गगन थापाको नेतृत्वमा रहेको कांग्रेस हो। निर्वाचन आयोग र सम्मानित अदालतले समेत यसको आधिकारिकता पुष्टि गरिसकेका छन्। यस्तो अवस्थामा केही स्वार्थप्रेरित तत्त्वहरूले आगामी १५ गते पुनः वडा निर्वाचनको भ्रम फैलाउनु हाँस्यास्पद छ।”
​उहाँले सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई कुनै पनि भ्रममा नपरी एकढिक्का भएर आगामी असोज १६ गतेदेखि हुने केन्द्रीय निर्वाचनमा थप सशक्त रूपमा लाग्न आह्वान गर्नुभयो। नेपालमा लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि नेपाली कांग्रेसको विकल्प नरहेको उहाँको दाबी थियो।

​कार्यक्रममा केन्द्रीय निर्वाचन अधिकृत अधिवक्ता भोविन्द्र बहादुर शाहले अछाम जिल्लाले देशभरमै पृथक् र अनुकरणीय एकताको सन्देश प्रवाह गरेकोमा खुसी व्यक्त गर्नुभयो।
​त्यस्तै, कार्यक्रममा बोल्दै निवर्तमान वडाध्यक्ष प्रेम प्रसाद भाटले मंगलसैनमा पार्टी संगठन थप सुदृढ र सशक्त बन्दै जाने विश्वास व्यक्त गर्नुभयो। नवनिर्वाचित वडाध्यक्ष यज्ञ प्रसाद ढुंगानाले आफूले महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गरेको बताउँदै निवर्तमान सभापति एवं अग्रज नेताहरूको मार्गदर्शनमा पार्टीलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाउनुभयो।

​असोज ३ र ४ गते सञ्चालित यस अधिवेशनले अछामका सम्पूर्ण ९१ वटै वडाहरूमा सर्वसम्मत तथा लोकतान्त्रिक प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरेको छ।

Comments are closed

Related Post