काठमाडौं । दावाँली मिलन क्लबले भोजपुरमा जन्मिएर राष्ट्रका विभिन्न क्षेत्रमा उच्च जिम्मेवारीमा पुगेका पाँच व्यक्तित्वलाई सम्मान गरेको छ।
क्लबले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाल सरकारको मुख्य सचिवमा पदोन्नति भएका गोविन्दबहादुर कार्की, सचिवमा पदोन्नति भएका उत्तरकुमार खत्री, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका ईश्वर कार्की, कर्मचारी सञ्चय कोषको कार्यकारी प्रमुखमा नियुक्त विजयकुमार श्रेष्ठ र स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)को उपाध्यक्षमा निर्वाचित विक्रम विष्टलाई सम्मान गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइराला र क्लबका अध्यक्ष रोशन श्रेष्ठले सम्मानित व्यक्तित्वलाई प्रशंसापत्र तथा दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।
क्लबले भोजपुरबाट विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा पुगेका व्यक्तित्वहरूको योगदानको कदर गर्दै सम्मान गरिएको जनाएको छ। नयाँ पुस्तालाई राष्ट्रसेवा, सामाजिक उत्तरदायित्व र नेतृत्वका लागि प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबको भनाइ छ।
सम्मानित व्यक्तित्वहरूले क्लबको सम्मानले राष्ट्र र जनताको सेवामा थप जिम्मेवार भएर काम गर्न प्रेरणा मिलेको बताउनुभयो। उहाँहरूले सम्मानसँगै आफ्नो जिम्मेवारी र उत्तरदायित्वसमेत थपिएको धारणा व्यक्त गर्नुभयो।
भोजपुरको दावाँ क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूबीच आपसी सम्बन्ध, सहकार्य र एकता अभिवृद्धि गर्ने उद्देश्यले स्थापना भएको दावाँली मिलन क्लबले सामाजिक सेवा, स्वास्थ्य, खेलकुद तथा समुदाय विकासका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।
क्लबले भोजपुरलगायत विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै सामाजिक सेवाका गतिविधिमा समेत सक्रिय सहभागिता जनाउँदै आएको छ। त्यस्तै, भलिबल खेलको विकास र स्थानीय प्रतिभाको पहिचानमा पनि क्लबले काम गर्दै आएको जनाएको छ।
क्लबले स्थानीयस्तरमा भलिबल प्रतियोगिता आयोजना तथा सहभागिता जनाउँदै आएकोमा पछिल्लो समय राष्ट्रियस्तरका क्लबस्तरीय भलिबल प्रतियोगितामा समेत सहभागिता जनाउँदै आएको छ। राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्नुका साथै विभिन्न क्लबस्तरीय प्रतियोगितामा सहभागिता जनाउँदै खेलकुद क्षेत्रमा आफ्नो गतिविधि विस्तार गरेको क्लबले जनाएको छ।
सामाजिक एकता, आपसी भाइचारा र समुदायप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि सामाजिक सेवा, खेलकुद तथा समुदाय विकासका गतिविधिलाई निरन्तरता दिने क्लबले जनाएको छ।














Comments are closed