Shopping cart

  • Home
  • समाज
  • हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी
अन्तर्राष्ट्रिय

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

Email :9

काठमाडौं । नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले जापानका फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी आज काठमाडौंको ऐतिहासिक हनुमानढोका दरबार स्क्वायरस्थित डबलीमा राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजे नेपालले आयोजना गरेको हो। प्रदर्शनीको उद्घाटन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनीता डङ्गोलले गर्नुभएको हो।

विपद्बाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आयोजना गरिएको उक्त फोटो प्रदर्शनीमा जापानको टोयामा क्षेत्रका दुई ऐतिहासिक सहर यात्सुओ र शिनमिनातो तथा त्यहाँ मनाइने परम्परागत पर्व, कला, संस्कृति र प्राकृतिक सौन्दर्यलाई तस्बिरमार्फत प्रस्तुत गरिएको छ।

भव्य तातेयामा हिमशृंखलाको फेदीमा अवस्थित यात्सुओ तथा समुद्रतटबाट तातेयामा हिमशृंखलाको मनोरम दृश्य देखिने शिनमिनातोका सांस्कृतिक तथा प्राकृतिक पक्ष प्रदर्शनीका प्रमुख आकर्षण रहेका छन्।

प्रदर्शनीमा यात्सुओमा प्रत्येक वर्ष सेप्टेम्बर १ देखि ३ सम्म मनाइने ‘काजे नो बोन’ पर्वका तस्बिरसमेत समावेश छन्। करिब ३०० वर्षभन्दा लामो इतिहास बोकेको उक्त पर्व जापानको प्रसिद्ध परम्परागत शरद् पर्वका रूपमा परिचित छ।

त्यस्तै, इमिजु सहरको होजोउजु हाचिमान्गु तीर्थस्थलमा सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म आयोजना हुने ‘हिकियामा’ रथयात्राका तस्बिर पनि प्रदर्शनीमा राखिएका छन्। दिनमा फूलका छाता र रातमा कागजी लालटिनले सजाइएका १३ वटा रथ पुरानो शिनमिनातो सहर क्षेत्रमा परिक्रमा गर्ने उक्त पर्व जापानको मौलिक सांस्कृतिक परम्पराको महत्वपूर्ण उदाहरण हो। यो पर्व ‘यामा, होको, यताई’ रथ पर्वसँग सम्बन्धित युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा समेत समावेश छ।

आज हरितालिका तीजका अवसरमा हनुमानढोका क्षेत्रमा आएका हजारौँ महिला दिदीबहिनी तथा सर्वसाधारणले पनि प्रदर्शनीको अवलोकन गरेका थिए। तीजमा नेपाली महिलाहरूले सामूहिक रूपमा नाचगान गर्ने परम्परा र जापानका विभिन्न परम्परागत पर्व तथा सामुदायिक सांस्कृतिक गतिविधिबीचको समानताले प्रदर्शनीलाई थप अर्थपूर्ण बनाएको आयोजकको भनाइ छ।

राष्ट्रिय फोटोपत्रकार समुहका अध्यक्ष प्रदीपराज वन्तले नेपाल र जापानबीच कला तथा संस्कृतिका क्षेत्रमा विभिन्न समानता रहेको उल्लेख गर्दै यस्तो प्रकारको फोटो प्रदर्शनीले दुई देशका फोटोपत्रकारबीच भाइचारा सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

“नेपालमा जापानी फोटो पत्रकारको प्रदर्शनी आयोजना हुनु र दुई देशका कला तथा संस्कृतिलाई तस्बिरमार्फत जोड्नु आफैँमा खुसीको विषय हो,” वन्तले भन्नुभयो, “आगामी दिनमा एसियाका अन्य देशका फोटोपत्रकारलाई समेत सहभागी गराएर नेपालमा प्रदर्शनी आयोजना गर्ने र नेपाली फोटोहरू विदेशमा प्रदर्शन गर्ने हाम्रो लक्ष्य छ।”

उहाँले यस्ता कार्यक्रमले फोटोपत्रकारिताको विकाससँगै नेपाल र अन्य मुलुकबीचको सांस्कृतिक सम्बन्ध, पर्यटन तथा आपसी सहकार्यलाई समेत थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।

प्रमुख अतिथि सुनीता डङ्गोलले प्रदर्शनीको अवलोकन गर्दै नेपाल र जापानका कला तथा संस्कृतिमा देखिने समानता निकै सकारात्मक पक्ष भएको बताउनुभयो। उहाँले नेपाली कला, संस्कृति र प्राकृतिक सौन्दर्य समेटिएका तस्बिरहरू जापानलगायत अन्य मुलुकमा प्रदर्शन गर्न सके नेपालको पर्यटन तथा सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।

फोटो प्रदर्शनीले जापानको प्राकृतिक सौन्दर्य, परम्परा र सांस्कृतिक जीवनलाई नेपाली दर्शकमाझ परिचित गराउनुका साथै नेपाल–जापानबीच फोटो पत्रकारिता, कला तथा संस्कृति आदानप्रदानको नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।

Comments are closed

Related Post