Shopping cart

  • Home
  • समाज
  • सिन्धुपाल्चोकलाई पर्यटनको हब बनाउने माधव सापकोटाको योजना
देश

सिन्धुपाल्चोकलाई पर्यटनको हब बनाउने माधव सापकोटाको योजना

Email :51

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक क्षेत्र नं. १ का उम्मेदवार माधव सापकोटा(सुुबोध)ले सिन्धुुपाल्चोक जिल्लालाई पर्यटनको हब बनाउने योजनासहित चुनाबी मैदानमा छन् । उनले आगामी २ वर्षभित्र काठमाडौंबाट एकै दिनमा जुगल हिमालको फेदीसम्म पुुग्नेगरी सडक र पूर्वाधारको विकासका लागि भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले जुगल हिमाल, सुकुटे, तातोपानी र भैरवकुण्डलाई व्यावसायिक पर्यटन हबका रूपमा विकास गर्न, होमस्टे, एड्भेन्चर र इकोटुरिजम प्रवद्र्धनका लागि युवालाई तालिम तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न समन्वय गर्ने पनि प्रतिबद्धता गरेका छन् ।

सापकोटाले धार्मिक तथा कृषि पर्यटन प्रवद्र्धनको योजना समेत अघि सारेका छन् । त्रिपुरासुन्दरीमा धार्मिक पर्यटन, लिसंखुमा कृषि तथा पर्यापर्यटन प्रवद्र्धन, दुगुनागढी, लिस्तीमाई, ॐ पार्क, बाह्रबिसेहुँदै कालिञ्चोकसम्मको मार्ग विस्तार र विकासका लागि पहलकदमी लिने बताएका छन् । हाइ अल्टिच्युड ट्रेकिङ र साइक्लिङ रुटः धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पर्यटनलाई जोड दिँदै पाँचपोखरीदेखि तातोपानीसम्म हाइ अल्टिच्युड ट्रेकिङ र साइक्लिङ रुट विकास पनि उनको योजना छ । सापकोटाले पर्यटन तथा सूचना प्रविधि क्षेत्रबाट पाँच हजार युवालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्यसहित काम गर्ने पनि बताएका छन् ।

 

सापकोटाले अरनिको राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, बलेफी, नौबिसे, जलविरे, ढाँडे, कात्तिके, गुम्बा र तेम्बाथान सडकलाई जुगलको फेदीसम्म वैकल्पिक राष्ट्रिय राजमार्गको स्तरमा स्तरोन्नति गर्ने प्रतिबद्धता गरेका छन् । त्यस्तै, चौतारा, बाह्रबिसे, जुगल, बलेफी, सुनकोशी, त्रिपुरासुन्दरी, लिसंखुपाखर र भोटेकोशीका सडक, पूर्वाधार तथा समग्र विकासका लागि पालिकाहरूसँग समन्वय गर्दै क्षेत्रगत विकासमा अग्रसरता लिने उनको घोषणा छ । मझौला, कृषि तथा पर्यटन सडकहरूको स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको छ ।

तातोपानी नाकालाई थप व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्ने, मन्दिर, गुम्बा, छोर्तेन तथा चर्चहरूको पुनर्निर्माण र सडक पहुँच विस्तारका लागि आवश्यक समन्वय गर्ने र जल, जंगल र ढुंगा लगायतका प्राकृतिक स्रोतको उपयोगमा स्थानीयवासीको अग्राधिकार सुनिश्चित गर्न आफु प्रतिबद्ध रहने उनको भनाई छ ।

 

सापकोटाले सबै तहमा निःशुल्क, गुणस्तरीय सीप सहितको प्राविधिक शिक्षा सुनिश्चित गर्न नीतिगत पहल गर्ने भन्दै प्लसटु गरेपछि रोजगारीमा जोडिने व्यवस्थाका लागि नीतिगत पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Comments are closed

Related Post