Shopping cart

  • Home
  • समाज
  • सहमतिको मार्ग रोज्दै रोविन शेरचनद्वारा अध्यक्ष उम्मेदवारी फिर्ता, वरिष्ठ उपाध्यक्ष बनाउने सहमति
अन्तर्राष्ट्रिय

सहमतिको मार्ग रोज्दै रोविन शेरचनद्वारा अध्यक्ष उम्मेदवारी फिर्ता, वरिष्ठ उपाध्यक्ष बनाउने सहमति

Email :65

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्व सहमतिमार्फत चयन गर्ने प्रयास तीव्र बनेको छ । यही प्रक्रियाअन्तर्गत अध्यक्ष पदका प्रत्याशी रोविन शेरचनले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

शेरचनले अध्यक्ष पदका अर्का उम्मेदवार हेमराज शर्मालाई समर्थन गर्दै शुक्रबार आफूले दर्ता गराएको उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन्।

एनआरएनएका अध्यक्षद्वय बद्री केसी र महेश श्रेष्ठसहित भएको उच्चस्तरीय वार्तापछि संस्थागत सहमतिका लागि शेरचन अध्यक्षको प्रतिस्पर्धाबाट पछि हट्न तयार भएका हुन्। वार्तामा उनलाई वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको बताइएको छ।

सहमति अनुसार शेरचनले शुक्रबार नै वरिष्ठ उपाध्यक्ष पदका लागि मनोनयन दर्ता गराइसकेका छन्। “मेरो सुरुदेखिकै धारणा संस्था एकताबद्ध हुनुपर्छ भन्ने हो। संस्थाको हितलाई ध्यानमा राख्दै अध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएको छु र सहमति अनुसार वरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता गराएको छु,” शेरचनले बताएका छन्।

स्रोतका अनुसार आगामी १३औँ महाधिवेशनमा शेरचनलाई अध्यक्ष बनाउने सहमति समेत भएको दाबी गरिएको छ।
यसैबीच अध्यक्ष महेश श्रेष्ठले वर्तमान अवस्थामा संस्थाको आवश्यकता सहमति र एकता भएकाले सोहीअनुसार नेतृत्व चयनको प्रयास भइरहेको बताए। उनले शेरचनले सहमतिका लागि उम्मेदवारी फिर्ता लिएको उल्लेख गर्दै अन्य आकांक्षीहरूलाई पनि मिलाएर चुनाव नगर्ने वातावरण बनाउन प्रयास भइरहेको जानकारी दिए।

केही महिनाअघि विभिन्न समूहमा विभाजित बनेको एनआरएनए एकीकृत भइसकेको छ। सोही एकीकृत संस्थाको १२औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ। सहमतिको वातावरण बनेसँगै निर्वाचन समितिले पनि निर्वाचन कार्यतालिका हेरफेर गरेको जनाएको छ।

Comments are closed

Related Post