Shopping cart

  • Home
  • राजनिती
  • सर्लाहीमा पाँच दिनको राजनीतिक गतिविधि सकेर काठमाडौं फर्किए थापा
देश

सर्लाहीमा पाँच दिनको राजनीतिक गतिविधि सकेर काठमाडौं फर्किए थापा

Email :133
सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाहीमा पाँच दिनको राजनीतिक गतिविधि सकेर काठमाडौं फर्किएका छन् ।
आफ्नो प्रतिनिधिसभा निर्वाचन क्षेत्र सर्लाही-४ मा रहँदै उनले पार्टीका नेता-कार्यकर्ता तथा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट, छलफल र संवाद कार्यक्रम सञ्चालन गरेका थिए । १२ माघमा सर्लाही पुगेका थापा आज जनकपुर विमानस्थल हुँदै काठमाडौं प्रस्थान गरेका हुन् ।
सर्लाही बसाइका क्रममा थापाले घरदैलो अभियान, संगठनात्मक बैठक तथा जनसंवाद कार्यक्रममा सहभागिता जनाएका थिए । उनको आगमनका अवसरमा नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।
पाँच दिनको कार्यक्रम अवधिभर थापा पार्टी संगठन मजबुत बनाउने विषयसँगै स्थानीय जनताका समस्या, गुनासा र अपेक्षामा केन्द्रित रहेका थिए । कार्यकर्तासँगको भेटघाटमा उनले सर्लाही–४ को विकास र समृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
थापाले सर्लाही र काठमाडौं दुवै स्थानमा सम्पर्क कार्यालय स्थापना गर्ने घोषणा गर्दै जनतासँग निरन्तर सम्पर्कमा रहने र माग तथा गुनासोलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने बताए ।
सर्लाही छाड्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “यहाँ आउँदा केही द्विविधा थियो, तर जनताले दिएको माया र विश्वासले फर्किँदा आत्मविश्वास बढेको छ।” लामो समयदेखि जनताले सक्षम र मुद्दा बुझ्ने प्रतिनिधि खोजिरहेको उल्लेख गर्दै उनले त्यस भरोसालाई सार्थक बनाउने प्रयास गर्ने बताए ।
थापाका अनुसार सर्लाहीमा तटबन्ध निर्माण, उखु किसानको बाँकी भुक्तानी, कृषिजन्य उत्पादनको बजार व्यवस्थापन, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका समस्या प्रमुख मुद्दाका रूपमा देखिएका छन् । कृषि सम्बन्धी टोली अध्ययन सम्पन्न गरी फर्किसकेको र सिँचाइसम्बन्धी टोली जिल्लामै रहेर काम गरिरहेको उनले जानकारी दिए । सूचना प्रविधि सम्बन्धी टोली पनि ८-१० दिनभित्र सर्लाही पुगेर अध्ययन गर्ने तयारीमा रहेको उनले बताए ।
काठमाडौं फर्किनुअघि थापाले जनकपुरस्थित नेपाली कांग्रेसको प्रदेश कार्यालयमा पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए । सो अवसरमा उनले आगामी पाँच वर्ष पार्टीले मधेशका मुद्दालाई प्राथमिकतामा राख्ने स्पष्ट पार्दै मधेशको पूर्ण समर्थन पाए कांग्रेसको एकल सरकार बन्ने र त्यसले मधेशका समस्या समाधानलाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरे ।

Comments are closed

Related Post