काठमाडौं । देशमा अपेक्षित विकास हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्दै डा. राकेश न्यौपानेले काठमाडौँ क्षेत्र नम्बर १० बाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा गरेका छन्। उनले “नागरिक सरकार” को अवधारणा अघि सार्दै अब नारा होइन, परिणाम दिने नेतृत्व आवश्यक रहेको बताए। २०७२ सालको भूकम्पका बेला स्वयंसेवकका रूपमा खटिएको अनुभव स्मरण गर्दै उनले दुर्गम जिल्लाहरूमा पुगेर समस्या सम्बन्धी तथ्यांक संकलन गरेको, विभिन्न आन्दोलनमा घाइते भएकालाई सहयोग गरेको र प्रत्यक्ष जनतासँग जोडिएर काम गरेको दाबी गरे। “हामीले भाषण मात्र होइन, भ्याएसम्म कर्म गर्ने हो,” उनले भने। काठमाडौँ–१० अन्य क्षेत्रभन्दा विकट रहेको उल्लेख गर्दै उनले सबै पक्षलाई समेटेर समन्वयात्मक विकासको दृष्टिकोणसहित उम्मेदवारी दिएको बताए।
उनले सार्वजनिक गरेको “उज्ज्यालो नेपाल” अभियानअन्तर्गत काठमाडौं–१० लाई डिजिटल मेरुदण्डका रूपमा विकास गर्दै IT Hub, BPO, KPO, AI, Data Center र FinTech प्रवर्द्धन गर्ने योजना अघि सारेका छन्। स्टार्टअप र युवा उद्यमशीलताका लागि सहुलियत ऋण, बजार पहुँच र प्राविधिक सहयोगको व्यवस्था गरिने उनको प्रतिबद्धता छ। साथै, प्रत्येक नागरिकलाई स्वास्थ्य बीमा सुनिश्चित गर्दै क्षेत्रीय स्तरमा गुणस्तरीय अस्पताल र Telemedicine Network विस्तार गरी ‘मेडिकल सिटी’ अवधारणा कार्यान्वयन गर्ने योजना उनले सुनाए। दक्षिणकाली मन्दिर क्षेत्रलाई धार्मिक, सांस्कृतिक तथा पर्यटन केन्द्रका रूपमा विकास गर्दै स्थानीय समुदायसँग सहकार्यमा सांस्कृतिक पहिचान संरक्षण गरिने उनले बताए। पर्यटन सर्किट विस्तार, पुरातात्विक सम्पदाको संरक्षण र स्मार्ट पूर्वाधार निर्माणमार्फत काठमाडौं–१० लाई ‘Spiritual & Cultural Hub’ का रूपमा स्थापित गर्ने उनको लक्ष्य छ।
वर्तमान राजनीतिक संस्कृतिप्रति टिप्पणी गर्दै उनले केही नेताहरू सामाजिक सञ्जालमा मात्र सक्रिय हुने तर प्रत्यक्ष जिम्मेवारीबाट पन्छिने गरेको आरोप लगाए। उनले विद्युत् क्षेत्र सुधारमा कुलमान घिसिङ ले १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेको उदाहरण प्रस्तुत गर्दै काममुखी र परिणाममुखी नेतृत्व आवश्यक रहेको औंल्याए। प्रत्येक योजना सार्वजनिक डिजिटल ड्यासबोर्डमार्फत ट्रयाक गरिने र असफल कार्यमा स्पष्ट जवाफदेहिता लिइने प्रतिबद्धता जनाउँदै उनले युवा विदेश पलायनप्रति गम्भीर चिन्ता व्यक्त गरे। “युवा यसरी नै बाहिरिँदा १० वर्षपछि देश कस्तो होला?” भन्ने प्रश्न उठाउँदै उनले अब नारामात्र होइन, देखिने परिणामसहितको राजनीति सुरु गर्नुपर्ने बताए। “काठमाडौं–१० बाट उज्यालो नेपाल बनाउने इतिहास लेखौं, अन्धकार होइन उज्यालो रोजौं, भोलि होइन आजै सुरु गरौं,” उनले आह्वान गरे।














Comments are closed