रोशन
निर्वाचन आयोगमा विभिन्न राजनीतिक दलहरूले पेस गरेको समानुपातिक उम्मेदवार सूचीले फेरि नेपाली राजनीतिमा नयाँ तरङ्ग सिर्जना गरेको छ। पिछडिएको भूगोल, वर्ग र जातिलाई राज्यसत्ताको मूलप्रवाहमा ल्याउने उद्देश्यले अपनाइएको समानुपातिक निर्वाचन प्रणालीमाथि यसपटक पुराना दल मात्र होइन, नयाँ भनिएका दलहरूले समेत मूल मर्ममाथि प्रहार गरेको भन्दै दलका नेतादेखि सामाजिक अभियन्तासम्मले तीव्र आलोचना गरेका छन्।
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले समानुपातिक सूचीलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेताहरू नै पटक–पटक बस्न रुचाएपछि यो प्रणालीको विरोध हुनु स्वाभाविक हो। अझ तिनैले कांग्रेस-एमाले मिलेर चुनावमा जानुपर्छ भन्छन्। रुख र सूर्य मिलेपछि चुनाव लडे भइहाल्यो नि, अहिले नाम फिर्ता लिए हुन्छ-पटके समानुपातिकले।’
पिछडिएको जात र क्षेत्रको नाममा पार्टी नेतृत्वका श्रीमती, छोराछोरी, नातागोता, आफन्त मात्र होइन, पटक–पटक अवसर पाइसकेका व्यक्ति, पदाधिकारी र नेतृत्व वरिपरि घुम्ने ‘धूप-बत्ती बाल्ने’हरू नै सूचीमा अटाइरहँदा समानुपातिक निर्वाचन प्रणालीको औचित्य नै समाप्त हुँदै गएको टिप्पणी व्यापक रूपमा उठिरहेको छ।
निवर्तमान प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्की भन्छिन्,- ‘समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले स्थान पाओस्, पहुँच र पावर नभएका तर सक्षम व्यक्तिले प्रतिनिधित्व पाऊन् भन्ने हो। सूचीले विपन्नलाई बोल्नुपर्छ, कर्णाली बोल्नुपर्छ, सुदूरपश्चिम बोल्नुपर्छ, गाउँ बोल्नुपर्छ। तर पार्टी नेतृत्वका आफन्त र भाइटल पोस्टमा रहनेहरू नै समानुपातिक सूचीका आकांक्षी बन्नुले यसको औचित्यमाथि नै प्रश्न उठाएको छ।’ उनको भनाइमा समानुपातिक प्रणाली समावेशिताका लागि हो, निषेधका लागि होइन। तर पहुँचमा रहेका शहरी र शक्तिशाली वर्गले मात्रै अवसर पाउने हो भने कसरी वास्तविक रूपमा पिछडिएका भूगोल र जातिको प्रतिनिधित्व सम्भव हुन्छ भन्ने प्रश्न आज चारैतिरबाट राजनीतिक दलहरूतर्फ उठिरहेको छ।
पछिल्लो समय सामाजिक सञ्जालमा चर्चाको शिखरमा पुगेकी आशिका तामाङले पनि यसप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। उनले लेखेकी छन्, ‘मलाई त लागेको थियो नयाँ दलबाट एउटा पनि गल्ती हुने छैन र पुरानाले औँला उठाउने मौका पाउने छैनन्। तर त्यस्तो रहेन।’
उनले निमुखा वर्ग र जातिका लागि छुट्याइएका कोटामा पहुँच र पहिचान भएका व्यक्ति अटाइएको भन्दै आपत्ति जनाएकी छन्। पहिल्यै चर्चित व्यक्तिहरू, ठेकेदारका छोरा, आसेपासे, छिमेकी र व्यक्तिगत चिनजानका आधारमा समानुपातिकमा अवसर पाउने प्रवृत्ति देखिएको उनको आरोप छ। सँगै स्कुल पढेका साथी सांसद र मन्त्री बन्ने तर वास्तविक रूपमा पछाडि पारिएका वर्ग फेरि पनि ओझेलमा पर्ने अवस्था दोहोरिएको उनी बताउँछिन्।
यदि नयाँ र पुराना दुवै राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीको अर्थपूर्ण, न्यायोचित र इमानदार प्रयोग गर्न सकेनन् भने देश फेरि पनि असन्तोष, अविश्वास र राजनीतिक दुर्घटनाको भुमरीमा फस्न सक्छ। त्यसैले समानुपातिक प्रणालीलाई शक्ति र पहुँचको पुनरावृत्तिको साधन होइन, समावेशी लोकतन्त्रको आधार बनाउनेतर्फ सबैले समयमै सचेत ध्यान दिनु आजको अनिवार्य आवश्यकता हो।














Comments are closed