काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।
चिसोका कारण खोकी, कफले गर्दा समस्या भएपछि नेता नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए । रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि त्यहाँबाट उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगेर भर्ना गरिएको हो ।
उपचार भने त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ चिकित्सकले गरिरहेका छन् ।
अस्पताल स्रोतका अनुसार उनलाई रुघा, खोकी र ज्वरोसँगै सास फेर्न गाह्रो (घ्यार-घ्यार) हुने समस्या देखिएको छ । ‘टिचिङ अस्पतालमा क्याबिन नपाएपछि मनमोहनमा राखेर उपचार गरिएको हो । उपचार भने त्रिविकै छातीरोग विभागका चिकित्सकले गरिरहनुभएको छ,’ अस्पताल स्रोतले जनाएको छ ।
बिहीबार नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू अस्पताल पुगेका थिए ।
नेता नेपालका सहयोगी लक्ष्मण रेग्मीले जटिल समस्या नभए पनि चिकित्सकको सुझाव अनुसार अस्पताल भर्ना गरिएको र आज बिहीबार डिस्चार्ज गर्ने तयारी भएको बताए ।














Comments are closed