पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट नवीन त्रिपाठी विजयी भएका छन् । शुक्रबार राति अबेर भएको मतदानमा त्रिपाठी विजयी भएका हुन् । अध्यक्षका लागि नवलपुरका राजन गौतम, कास्कीका नवीन त्रिपाठी, माधवप्रसाद कँडेल र हरिबहादुर कार्की चुनावी मैदानमा थिए ।
त्रिपाठीले २ सय ३४ मत ल्याएर चुनाव जित्दा निकटतम प्रतिस्पर्धी बहालवाला सभापति समेत रहेका राजन गौतमले १ सय ८२ मत पाए । सभापतिका उम्मेदवार माधव कँडेलले ११ मत र हरिबहादुर कार्कीले २ मत मात्र प्राप्त गरेका छन् ।
अध्यक्षमा विजयी हुने उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने प्रावधान विधानमा रहेकोमा त्रिपाठीले पहिलो चरणमै उक्त थ्रेसहोल्ड कटाइदिएका हुन् । शुक्रबार राति करिब ११ बजेतिर सुरु भएको मतदान अन्तर्गत शनिबार बिहान मत गणना सम्पन्न भएको हो ।
यस्तै, प्रदेश सदस्यका लागि ५१ जनाले उम्मेदवारी दिएका थिए । जसमध्येबाट विभिन्न कलस्टरसहित ३३ जना निर्वाचित हुन्छन् । ५१ आकाङ्क्षी मध्ये क्षेत्रगत प्रदेश सदस्यका लागि २८ जना उम्मेदवार छन् । यी २८ जनाबाट गण्डकी प्रदेशको १८ वटा निर्वाचन क्षेत्रका १-१ जना निर्वाचित हुन्छन् । समावेशी प्रदेश सदस्यका लागि २३ जनको उम्मेदवारी परेको थियो । समावेशीबाट १५ जना निर्वाचित भएको भएपनि उनीहरुको विवरण आउन बाँकी छ ।
प्रदेश सदस्यका लागि ५१ आकाङ्क्षी मध्ये १२ जना निर्विरोध निर्वाचित भएका छन् । क्षेत्रगत प्रदेश सदस्यतर्फबाट बागलुङ १ का मिना शर्मा आचार्य, गोरखा १ बाट मनोज गुरुङ, गोरखा २ बाट बलबहादुर घले, लमजुङबाट विजय पराजुली, म्याग्दीबाट ताराबहादुर कार्की र तनहुँ १ बाट सूर्यमणि पौडेल निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेश समावेशी सदस्यमा खसआर्य महिलाबाट सीताकुमारी अर्याल, कृष्णकुमारी अधिकारी (अनिशा) र राममाया बस्ताकोटी निर्विरोध निर्वाचित भइन् । मुस्लिम महिलाबाट समिउन निशा, दलित महिलाबाट गीता विश्वकर्मा र अपाङ्गता भएका खसआर्यबाट यदुनाथ सिग्देल निर्विरोध निर्वाचित भएका छन् ।














Comments are closed