काठमाडौँ । राष्ट्रिय सहकारी बैंकले पुँजीकोष बृद्धिमा निकै ठूलो फड्को मारेको छ । एक बर्षमा बैंकले पुँजीकोष १३७.६३ प्रतिशतले बढाएको छ । बैंकले चालु आर्थिक बर्षको तेस्राे त्रैमासमा पुँजीकोष पर्याप्तता अनुपात ४.४२ प्रतिशत पुर्याएको छ ।
असार मसान्तसम्ममा पुँजीकोष ५ प्रतिशत पुर्याउन प्रयासरत रहेकाे बैंकका प्रमूख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले जानकारी दिए । विहिबार बैंकको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गुरागाईले सदस्यहरुको साथ र सहयोगका कारण निक्कै दवावमा रहेको पुँजीकोषलाई पाँच प्रतिशतको हाराहारीमा ल्याउन सफल भएको बताए । बैंकले आगामी पुस मसान्तसम्ममा ८ प्रतिशतको हाराहारीमा पुँजीकोष पुर्याउने आन्तरिक लक्ष्य राखेकाे छ ।
गत आर्थिक बर्षको चौथो त्रैमासमा बैंकको पुँजीकोष १.८६ प्रतिशत रहेको थियो । पुँजीकोषमा अत्यधिक दवाव परेपछि बैंकलाई नेपाल राष्ट्र बैंकले शिघ्र सुधारात्मक कारबाही (पिसिए) गरी निक्षेप संकलन र कर्जा प्रबाहका लागि रोक लगाएको थियो ।
सीईओ गुरागाईंले निष्कृय कर्जा घटाउने अभियानमा बैंक लागेको जानकारी दिए । ‘बैंकले निष्कृय कर्जा घटाउने तथा पूँजीकोष बढाउने अभियानलाई तीव्र बनाउने छ।’ सिइओ गुरागाईले भने । हाल बैंकको निष्कृय कर्जा ३८.५ प्रतिशत रहेको छ । बैंकले आगामी आर्थिक बर्षसम्ममा निष्कृय कर्जालाई २६ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको निष्कृय कर्जा २७.२३ प्रतिशत रहेको बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यस्तै हाल बैंक निक्षेप घटाउने तथा कर्जा बढाउनेमा ध्यान केन्द्रित गरिरहेको छ । बैंकका अनुसार हाल निक्षेप ४३ अर्ब र कर्जा १५ अर्ब रुपैयाँ पुगेको छ । आगामी आर्थिक बर्षको अन्त्यसम्ममा बैंकको निक्षेप ४० अर्बमा सिमित गरी १४ प्रतिशतले कर्जा प्रबाह गरेर साढे १६ अर्ब पुर्याउने लक्ष्य बैंकको छ । हाल बैंकको कर्जा निक्षेप अनुपात हाल ३५.९७ प्रतिशत रहेको छ ।
सिइओ गुरागाईंले आगामी दिनमा बैंकले सदस्यमैत्री सेवा, डिजिटल बैंकिङ विस्तार, खराब कर्जा व्यवस्थापन तथा पूँजी सुदृढीकरणलाई प्राथमिकतामा राखेको पनि जानकारी दिए ।
बैंकले उत्पादनमूलक क्षेत्र, साना तथा मझौला सहकारी, स्वरोजगार, पर्यटन तथा गरिबी निवारणलगायत क्षेत्रमा लगानी केन्द्रित गरिएको जानकारी दिइएको छ।
आगामी आर्थिक बर्षमा बैंकले ६३ करोड रुपैयाँ मुनाफा आर्जन गर्ने लक्ष्य राखेको पनि बैंकले जनाएको छ ।
‘बैंकले डिजिटल सेवा विस्तार, स्थिर ब्याजदरमा कर्जा, “सदस्य भेटौँ, सदस्य सुनौँ“ अभियान, सदस्यका लागि निःशुल्क तालिम तथा जोखिममा आधारित आन्तरिक लेखापरीक्षणलाई प्राथमिकता दिइने छ ’। सिइओ गुरागाईले भने ।
कार्यक्रममा सदस्य संस्थाहरूले ओभरड्राफ्ट सुविधा, स्थिर ब्याजदरमा कर्जा, डिजिटल सेवा विस्तार, आफ्नै मोबाइल एप, सेवा शुल्क पुनरावलोकन, व्यवसायिक योजना निर्माण सहयोग तथा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए। तीमध्ये धेरै सुझाव आगामी बजेट तथा कार्यक्रममार्फत कार्यान्वयनमा लैजाने प्रतिबद्धता बैंकले जनाएको छ।
बैंकले सहकारी क्षेत्रको संस्थागत विकास, सुशासन, डिजिटल रूपान्तरण तथा सदस्य संस्थाको क्षमता अभिवृद्धिलाई आगामी कार्ययोजनाको केन्द्रमा राख्दै सहकारी अभियानलाई थप सुदृढ बनाउन सरोकारवाला निकायसँग सहकार्य विस्तार गर्ने जनाएको छ।














Comments are closed