वीरेन्द्रनगर । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टाचार र स्वार्थी प्रवृत्तिको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले अबको पार्टी इमानदारहरूको पार्टी हुने उल्लेख गरे ।
उनले भने, ‘भ्रष्टाचार र स्वार्थी प्रवृत्तिलाई अन्त्य गरिएन भने तथा साझा भावना अगाडि बढाउन सकिएन भने देशलाई अगाडि बढाउन सकिँदैन । त्यसैले हामीले विगतका कमजोरी स्वीकार गर्दै इमानदार तरिकाले काम गर्ने सोचेर नै पार्टी एकता गरेका हौं ।’
नेता नेपालले कम्युनिस्ट नेतृत्वको सरकारले गरेका कामहरूको बचाउ समेत गरेका छन् । उनले आफू र प्रचण्ड प्रधानमन्त्री हुँदा धेरै राम्रा कामहरू भएको दाबी गरे । ‘म र प्रचण्डजी प्रधानमन्त्री भएका बेला राम्रा काम पनि गरेका छौं, तर केही गरेनन् भन्छन् ।’ नेपालले भने, ‘मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, जनता आवास कार्यक्रम र युवालाई रोजगारी दिने जस्ता महत्त्वपूर्ण कामहरू कम्युनिस्ट सरकारकै पालामा भएका छन् ।’
उनले जनअपेक्षा अनुसार जति काम हुनुपर्ने थियो, त्यो नभएको हुनसक्ने भन्दै ‘जति गर्न सक्नुपर्थ्यो त्यो नभएका होलान्, तर केही नभएको भने होइन । हामीले शिर निहुराउनु पर्ने अवस्था छैन’ उनले भने ।














Comments are closed