Shopping cart

  • Home
  • राजनिती
  • फागुन २१ पछि देशको नेतृत्व नेकपाले सम्हाल्ने छ: प्रचण्ड
देश

फागुन २१ पछि देशको नेतृत्व नेकपाले सम्हाल्ने छ: प्रचण्ड

Email :75

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयाेजक  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ मा हुने निर्वाचनपछि देशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सम्हाल्ने दृढ विश्वास व्यक्त गर्नुभएकाे छ।

उहाँले देशको राजनीतिक दिशा परिवर्तन गर्ने ऐतिहासिक अवसरका रूपमा यस निर्वाचनलाई लिनुपर्ने बताउनुभयाे। नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेको निर्वाचन सामान्य शक्ति परीक्षण नभई देशको भविष्य निर्धारण गर्ने निर्णायक मोड भएको उल्लेख गर्नुभयाे। “हामी सुरुदेखि नै देशको समस्या समाधानको उपाय निर्वाचन नै हो भन्ने अडानमा थियौँ। आज सबै राजनीतिक शक्तिहरू निर्वाचनमै केन्द्रित भएका छन्। यो हाम्रो राजनीतिक लाइनको विजय हो,” उहाँले भन्नुभयाे।

प्रचण्डले विगतका अन्योल, अस्थिरता र सत्ता–केन्द्रित समीकरणको राजनीतिले देशलाई निकास दिन नसकेको उल्लेख गर्दै अब स्पष्ट जनमतमार्फत स्थिर, सक्षम र जनमुखी नेतृत्व आवश्यक रहेको बताउनुभयाे। उहाँका अनुसार नेकपाले प्रस्तुत गरेको वैचारिक स्पष्टता, राष्ट्रिय स्वाधीनताको पक्षमा अडान र जनजीविकासँग प्रत्यक्ष जोडिएको कार्यक्रमका कारण जनताको भरोसा बढ्दै गएको छ।

उहाँले सर्वदलीय सरकार, संसद् पुनर्स्थापना जस्ता मुद्दा अहिले राजनीतिक एजेन्डाबाट हराइसकेको उल्लेख गर्दै भन्नुभयाे, “देश नै अहिले नेकपाको लाइनमा आएको छ। हामीले उठाएका एजेन्डा आज राष्ट्रिय बहसका विषय बनेका छन्। यो हाम्रो वैचारिक र राजनीतिक नेतृत्वको प्रमाण हो।”

एमालेसँग १० सिटमा चुनावी तालमेल हुन लागेको भन्ने प्रचारप्रति उहाँले स्पष्ट अस्वीकार गर्नुभयाे। “हामी कसैसँग गोप्य वा अपारदर्शी तालमेलमा छैनौँ। नेकपा आफ्नै शक्ति, आफ्नै एजेन्डा र आफ्नै जनआधारमा अग्निपरीक्षामा होमिएको छ,” उहाँले भन्नुभयाे।

उहाँले निर्वाचन निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भए नेकपालाई पहिलो शक्ति बन्न कसैले रोक्न नसक्ने दाबी गर्नुभयाे। “जनताको मन जित्ने पार्टीलाई कुनै शक्ति रोक्न सक्दैन। हामी जनताको घरदैलोमा छौँ, जनताको एजेन्डासँग छौँ,” उहाँले जोड दिनुभयाे।

प्रचण्डले पार्टीका नेता–कार्यकर्तालाई युद्धस्तरमा चुनावी अभियान सञ्चालन गर्न निर्देशन दिँदै संगठन सुदृढीकरण, मतदाता शिक्षण र घरदैलो कार्यक्रमलाई तीव्र बनाउन आग्रह पनि गर्नुभएकाे छ।

उहाँका अनुसार नेकपाको लक्ष्य केवल सरकार बनाउनु मात्र नभई देशमा राजनीतिक स्थिरता, आर्थिक रूपान्तरण र सामाजिक न्याय सुनिश्चित गर्नु हो। “हाम्रो उद्देश्य सत्ता होइन, परिवर्तन हो। देशलाई समृद्धि र सुशासनको नयाँ चरणमा लैजानु नै हाम्रो संकल्प हो,” उहाँले भन्नुभयाे।

फागुन २१ को निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा प्रस्तुत गर्दै उहाँले जनतालाई ढुक्क भई नेकपालाई साथ दिन आह्वान गर्नुभयाे। “अबको नेतृत्व स्पष्ट छ। जनताको समर्थन र भरोसाले नेकपाले देशको नेतृत्व सम्हाल्नेछ,” उहाँले आत्मविश्वासका साथ भन्नुभयाे।

Comments are closed

Related Post