Shopping cart

  • Home
  • राजनिती
  • नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि घोषणापत्रमा ‘भिजन-१०’ समेट्ने
देश

नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि घोषणापत्रमा ‘भिजन-१०’ समेट्ने

Email :108

काठमाडौँ । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’ समेट्ने भएको छ। शनिबार नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्रले मुलुकको यथार्थ अवस्थालाई प्रतिबिम्बित गर्दै सुशासन, विकास र व्यवहारिक कार्य योजनालाई केन्द्रमा राख्ने बताएका छन्।

प्रवक्ता चालिसेका अनुसार कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित रहने छैन । त्यसको कार्यान्वयनका लागि आवश्यक स्रोत, साधन र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ। ‘घोषणापत्रमा कार्यक्रम मात्र होइन, त्यसका लागि स्रोत व्यवस्थापन कसरी गर्ने भन्ने विषय पनि समेटिन्छ,’

‘कांग्रेसले गर्न सक्ने क्षमता, व्यवहारिकता र कार्यान्वयन योग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउँछ,’ उनले भने, ‘यसले सबै वर्ग, क्षेत्र र समुदायको भावना समेट्ने प्रयास गर्नेछ।’ उनले भने।

हाल घोषणापत्र निर्माणका क्रममा पार्टीले देशभरका जिल्ला–जिल्लाबाट सुझाव सङ्कलन गरिरहेको जानकारी दिँदै चालिसेले स्थानीय तह, क्षेत्र र जिल्लाबाट आएका सुझावलाई एकीकृत गरी राष्ट्रिय आवश्यकतासँग जोडिने बताए।

प्रवक्ता चालिसेले घोषणापत्रले वर्तमान चुनौती र भविष्यको दिशालाई एकसाथ सम्बोधन गर्दै जनतासामु विश्वासयोग्य विकल्प प्रस्तुत गर्ने दाबी गरे । पार्टीले स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका घोषणापत्रमार्फत सार्वजनिक गर्ने तयारी गरेको उनको भनाइ छ।

यस अवसरमा उनले ‘न्यु टेस्ट’ का नाममा देशलाई प्रयोगशाला बनाउन नहुने चेतावनीसमेत दिए। जनताबाट अनुमोदन प्राप्त गर्ने राजनीतिक संस्था कहिल्यै पुरानो नहुने उल्लेख गर्दै उनले व्यक्तिहरू मात्र समयसँगै पुराना हुने बताए। ‘पार्टी पुरानो हुँदैन, विचार नयाँ दिने हो, नेतृत्व नयाँ दिने हो,’ चालिसेले भने, ‘विश्वभर पुराना पार्टीहरूमा नयाँ नेतृत्व आउने गर्छ, र त्यही प्रक्रियाबाट भरोसायोग्य भविष्य निर्माण हुन्छ।’

 

Comments are closed

Related Post