Shopping cart

  • Home
  • राजनिती
  • ठूला-ठूला सपना र शब्दजालभन्दा परिणाममुखी काम महत्वपूर्ण हुन्छ-रेनु दाहाल
देश

ठूला-ठूला सपना र शब्दजालभन्दा परिणाममुखी काम महत्वपूर्ण हुन्छ-रेनु दाहाल

Email :88

चितवन । रेनु दाहालले चितवन क्षेत्र नम्बर ३ मा आफूलाई साझा उम्मेदवारका रूपमा अघि सार्दै सबै राजनीतिक दललाई उम्मेदवारी फिर्ता लिएर विकास र समृद्धिको साझा यात्रामा सहभागी हुन आह्वान गरेकी छिन् ।

चुनावी घरदैलो अभियानका क्रममा बोल्दै उनले विगतमा भरतपुर महानगरपालिकामा हासिल गरिएका विकास उपलब्धि, सुशासन र पूर्वाधार विस्तारलाई आधार बनाउँदै अब त्यही अनुभवलाई संघीय संसद्मार्फत समग्र चितवन र राष्ट्र निर्माणमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । “दुईवटा पार्टीका प्रत्यक्ष उम्मेदवारले उम्मेदवारी फिर्ता दिइसक्दा अन्य दलहरूले पनि विकास र स्थायित्वका लागि साझा धारणा बनाउन सक्नुहुन्छ,” उनले भनिन्, “समर्थन नगर्नुपर्ने कुनै कारण छैन।”

भरतपुर महानगरपालिकाको नेतृत्व गर्दै हासिल गरिएको अनुभवले चितवनलाई योजनाबद्ध, दीर्घकालीन र समन्वयात्मक ढङ्गले अघि बढाउन सकिने विश्वास उनले व्यक्त गरिन । उनका अनुसार अबको आवश्यकता राजनीतिक प्रतिस्पर्धाभन्दा पनि साझा लक्ष्यसहितको सहकार्य हो।

दाहालले चुनावी मैदानमा भ्रम र अतिरञ्जित आश्वासन फैलाउने प्रवृत्तिप्रति सचेत रहन मतदातालाई आग्रह गरिन । “ठूला–ठूला सपना र शब्दजालभन्दा परिणाममुखी काम महत्वपूर्ण हुन्छ,” उनले भनिन्, “कुराले होइन, व्यवहारले विकास देखिन्छ। कुरा गर्ने कि काम गर्ने रोज्ने, त्यो जनताकै हातमा छ।”

हाल उनि माडी र भरतपुर क्षेत्रमा समानान्तर रूपमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवादमा छिन् । जनताको विश्वास, एकता र सहकार्यकै बलमा चितवनलाई अझ समृद्ध र व्यवस्थित जिल्लाका रूपमा स्थापित गर्ने प्रतिबद्धता उनले दोहोर्याउँदै आएकी छिन् ।

Comments are closed

Related Post