झापा : झापा-५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रञ्जित तामाङले निर्वाचन आचारसंहिता विपरीत योजना र बजेट वितरण भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
तामाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सत्ता र शक्तिको दुरुपयोग गरी चुनाव प्रयोजनका लागि योजना तथा बजेट बाँडफाँट गरिएको आरोप लगाए । उनले यस्तो कार्यले निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि प्रश्न उठाउने बताए ।
‘दुवै अति राष्ट्रलाई क्षति’ भन्ने टिप्पणी गर्दै उनले आचारसंहिताविरुद्ध जनतालाई प्रलोभनमा पार्ने गतिविधि तत्काल बन्द गर्न माग गरेका छन् । उनले मुख्यमन्त्री नै सत्ता र शक्तिको दुरुपयोगमा लागेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेशवुकमा लेखेका छन् ,
“निर्वाचन आचार संहिता बिपरित
मुख्यमन्त्री स्वयम सत्ता र शक्तिको दुरुपयोग गर्दै
चुनाब प्रयोजनार्थ योजना र बजेट बितरण गरिरहेको प्रति
मेरो ध्यानाकर्षण भएको छ ।
आचारसंहिता बिरुद्ध जनता प्रलोभनमा पार्ने कार्य बन्द गर ।
निर्वाचन आयोगको ध्यानाकर्षण होस।”
तामाङले निर्वाचन आयोगलाई समेत यस विषयमा ध्यान दिन आग्रह गरेका छन् । चुनावी माहोल तातेका बेला सत्ताको दुरुपयोग हुन नदिन कडाइका साथ अनुगमन गर्नुपर्ने उनको भनाइ छ ।
निर्वाचन नजिकिँदै जाँदा विभिन्न क्षेत्रमा आचारसंहिता उल्लङ्घनका आरोप सार्वजनिक भइरहेका छन् । आयोगले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता जनाउँदै आएको छ ।















Comments are closed