काठमाडौँ । आदिवासी जनजाति चलचित्र महासङ्घको आयोजनामा ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०८३’ जेठ १७ गतेदेखि सुरु हुने भएको छ ।
काठमाडौँस्थित चलचित्र विकास बोर्डमा जेठ १७, १८ र १९ गते आयोजना हुने भएको हो । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आदिवासी जनजाति चलचित्र महासङ्घले नेपालजस्तो बहु–भाषिक, बहु-सांस्कृतिक र बहु–धार्मिक विशेषता बोकेको मुलुकमा आदिवासी जनजाति समुदायको इतिहास, भाषा, लिपि, संस्कृति, सामुदायिक स्मृति र मौलिक संकथनलाई उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो । महोत्सवका निर्देशक सागर केरुङका अनुसार यस वर्षको महोत्सव केवल चलचित्र प्रदर्शनको औपचारिक कार्यक्रम मात्र नभई सांस्कृतिक न्याय, आत्म-प्रतिनिधित्व, भाषिक पुनर्जागरण र औपनिवेशिकता विरुद्धको प्रतिरोध एवं सिनेमाटिक आन्दोलनको रूपमा रहनेछ ।
महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, र वृत्तचित्रहरू प्रदर्शन गरिने बताइएको छ ।
नेवारी चलचित्र स्वयंगु – निर्देशक दिनेश लिङदेन, गुरुङ चलचित्र डल्स्यो रामरानी- निर्देशक जनक गुरुङ, तामाङ चलचित्र ह्याङ तामाङ, निर्देशक निमा लामा, मगर चलचित्र दिलसरा- निर्देशक अशोक आले रहेको चलचित्र प्रदर्शन हुनेछन् ।
यस्तै लघु चलचित्रतर्फ तहरसिङ- निर्देशक सागर केरुङ,दुख्ला ग्याम- निर्देशक हुतबहादुर तामाङ, निको पहिचान- निर्देशक बिपना तामाङ,लाहुरेनी- निर्देशक विशाल रोक्का मगरको प्रदर्शन हुनेछ । वृत्तचित्र र एआई जेनेरेटेड विधामा समेत विशेष प्रस्तुतिहरू रहने महासङ्घले जनाएको छ ।
उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलगायत प्रोत्साहन पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
महासङ्घका कार्यवाहक अध्यक्ष भुइसल लामाका अनुसार आदिवासी चलचित्रलाई केवल मनोरञ्जनको रूपमा मात्र नभई सामाजिक, सांस्कृतिक र राजनीतिक दस्ताबेजको रूपमा आत्मसात् गर्नुपर्दछ ।
महासंघले महोत्सवले नेपाललाई विश्व आदिवासी चलचित्र आन्दोलनको एक सशक्त उदीयमान केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै आयोजकले सञ्चारमाध्यम तथा दर्शकलाई महोत्सवको प्रचार-प्रसार र सहभागिताका लागि आग्रह गरेको छ।
महोत्सवले नेपाललाई विश्व आदिवासी चलचित्र आन्दोलनको एक सशक्त उदीयमान केन्द्रका रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय चलचित्रकर्मी, अनुसन्धानकर्ता, सांस्कृतिक अभियन्ता तथा समुदायबीच नयाँ संवाद, सहकार्य र वैकल्पिक सिनेम्याटिक विमर्श निर्माण गर्ने विश्वास आयोजकको छ।
प्रेस विज्ञप्ति
आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा “छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०८३” आगामी जेठ १७, १८ र १९ गते काठमाडौंस्थित चलचित्र विकास बोर्डमा आयोजना हुने जानकारी गराउन पाउँदा हामी गौरवान्वित छौं । नेपालजस्तो बहु–राष्ट्रिय, बहुभाषिक तथा बहुसांस्कृतिक सभ्यतागत संरचनाभित्र आदिवासी जनजाति समुदायका इतिहास, भाषा, लिपि, मिथक, सामुदायिक स्मृति, भू–चेतना, लोक–ज्ञान, आध्यात्मिक अनुभव तथा सांस्कृतिक अस्तित्वलाई दृश्य–श्रव्य माध्यममार्फत पुनर्स्थापित गर्ने ऐतिहासिक उद्देश्यसहित आयोजित यो महोत्सव केवल चलचित्र प्रदर्शनको औपचारिक कार्यक्रम नभएर सांस्कृतिक न्याय, आत्म–प्रतिनिधित्व, भाषिक पुनर्जागरण, ज्ञान–उपनिवेशवादविरुद्धको प्रतिरोध तथा एपिस्टेमिक स्वतन्त्रताको अन्तर्राष्ट्रिय सिनेम्याटिक आन्दोलन हो ।
आज विश्वमानव सभ्यता गम्भीर ज्ञान–संकटको मोडमा उभिएको छ । आधुनिक विकास–केन्द्रित विश्वदृष्टिले प्रकृति, समुदाय, स्मृति र आध्यात्मिक सहअस्तित्वलाई विखण्डित गरिरहेको वर्तमान अवस्थामा विश्व बौद्धिक समुदायले वैकल्पिक ज्ञान–स्रोतका रूपमा आदिवासी ज्ञान–परम्परातर्फ पुनः फर्किन थालेको छ । यही सन्दर्भमा आदिवासी चलचित्र केवल कलात्मक अभिव्यक्ति नभई समुदायको ब्रह्माण्ड–दृष्टि, प्रकृतिसँगको सम्बन्ध, पूर्वजगतसँगको संवाद, सामूहिक स्मृति र सांस्कृतिक चेतनाको जीवित अभिलेखका रूपमा उदाएको छ । आदिवासी समुदायका भाषा, संस्कार–संस्कृति, विश्वास प्रणाली, अनुष्ठान, मौखिक इतिहास तथा ज्ञान–परम्परालाई चलचित्रमार्फत अभिव्यक्त गर्ने प्रक्रिया केवल सिर्जनात्मक अभ्यास होइन; यो सांस्कृतिक पुनरुत्थान, पहिचान–राजनीति र एपिस्टेमिक प्रतिरोधसँग अन्तर्सम्बद्ध एक गहिरो ज्ञान–परियोजना हो ।
नेपालमा आदिवासी चलचित्र निर्माणको चार दशक लामो यात्रामा हालसम्म करिब डेढ हजारभन्दा बढी आदिवासी चलचित्र निर्माण भइसकेका छन् । विगतका प्रयासहरूले आदिवासी पहिचानलाई दृश्यता दिने प्रारम्भिक आधार निर्माण गरेका थिए भने वर्तमानका सिर्जनाहरूले मातृभाषा, भूमि–सम्बन्ध, पूर्वजगत, लोक–ज्ञान, सांस्कृतिक प्रासङ्गिकता, अनुष्ठानिक संरचना, ध्वनि–विसंरचना तथा सामुदायिक आवाजलाई केन्द्रमा राख्दै एक पृथक आदिवासी सिनेम्याटिक सौन्दर्य–दर्शनको विकास गरिरहेका छन् । आदिवासी चलचित्रमा भूगोल, पात्र, कथा, संगीत, भाषा र क्यामराको अवाचिक संकेतन केवल प्राविधिक संयोजन होइनन्; ती समुदायको विश्वदृष्टि, ज्ञान–परम्परा, सांस्कृतिक आत्म–चेतना र सामूहिक अस्तित्वलाई पुनरुत्पादन गर्ने जीवित सांस्कृतिक माध्यम हुन् ।
महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआइ जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछन् । कथानक चलचित्रतर्फ दिनेश लिङदेन निर्देशित “रीत”, अमृतमान महर्जन निर्देशित “स्वयनगु”, जनक गुरुङ निर्देशित “ङोल्स्यो रामरानी”, निमा लामा तामाङ निर्देशित “ह्याङ तामाङ”, परशुराम चौधरी निर्देशित ‘जाइछै सौसरा’ तथा अशोक आले मगर निर्देशित “दिलसरा” प्रदर्शन गरिनेछ । लघु चलचित्रतर्फ सागर केरुङ निर्देशित “तङसिङ”, हुतबहादुर तामाङ निर्देशित “दुखला ग्यम”, बिपना तामाङ भुजेल निर्देशित “निको पहिचान” तथा विशाल रोक्का मगर निर्देशित “लाहुरेनी” समावेश छन् । त्यसैगरी वृत्तचित्रतर्फ अनिल मगर निर्देशित “आग्रे”, होम कुमारी माझी निर्देशित “लदि पुजा” तथा अरविन्द विश्वास निर्देशित एआइ जेनेरेटेड वृत्तचित्र “बिराटनगरके प्राचिन राजवंशी” प्रदर्शन गरिनेछ । महोत्सवमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र तथा कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट स्क्रिप्ट, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकन, प्रोत्साहन पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिनेछ ।
आज विश्वभर आदिवासी चलचित्रलाई केवल कला वा मनोरञ्जनका रूपमा होइन, सभ्यता, स्मृति, प्रतिरोध, अस्तित्व र सांस्कृतिक सार्वभौमिकताको राजनीतिक दस्तावेजका रूपमा हेरिन थालेको छ । “छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव – २०८३” त्यही सांस्कृतिक पुनर्जागरणको विराट उत्सव हो, जहाँ पर्दामा केवल चलचित्र प्रदर्शन हुँदैन—त्यहाँ भाषा बोल्छ, इतिहास बोल्छ, भूमि बोल्छ, पूर्वजहरूको स्मृति बोल्छ, र समुदायको जीवित आत्मा बोल्छ ।
यस महोत्सवले नेपाललाई विश्व आदिवासी चलचित्र आन्दोलनको एक सशक्त उदीयमान केन्द्रका रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय चलचित्रकर्मी, अनुसन्धानकर्ता, सांस्कृतिक अभियन्ता तथा समुदायबीच नयाँ संवाद, सहकार्य र वैकल्पिक सिनेम्याटिक विमर्श निर्माण गर्ने विश्वास लिएको छ ।
महोत्सवको सफलताका लागि सहयोग पुर्याइरहनुभएका सम्पूर्ण चलचित्रकर्मी, सञ्चारमाध्यम, साझेदार निकाय तथा सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दै सम्पूर्ण सञ्चारकर्मी महानुभावहरूलाई महोत्सवको प्रचार–प्रसार तथा गरिमामय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं ।
मिति : २०८३ जेठ १४ गते, अनामनगर, काठमान्डौ नेपाल
Sagar Kerung /सागर केरुङ
(Festival Director / महोत्सव निर्देशक)
Mobile No.: +977-9842664950










Comments are closed