Shopping cart

  • Home
  • शिक्षा
  • गुणस्तरीय र समावेशी शिक्षा नै सामाजिक सद्भावको आधार : उपराष्ट्रपति यादव
देश

गुणस्तरीय र समावेशी शिक्षा नै सामाजिक सद्भावको आधार : उपराष्ट्रपति यादव

Email :85

काठमाडौं–सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवज्यूले नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा शिक्षा नै सामाजिक सद्भाव र राष्ट्रिय एकताको मुख्य कडी भएको बताउनुभएको छ । उहाँले शिक्षाले ज्ञान मात्र नभई नम्रता, अनुशासन र सामाजिक उत्तरदायित्व समेत विकास गर्ने बताउनुभयो ।

काठमाडौंस्थित मदन भण्डारी मेमोरियल कलेजको २५औं वार्षिकोत्सव (रजत जयन्ती) समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले उक्त विचार व्यक्त गर्नुभएको हो ।

उपराष्ट्रपति यादवले विगत २५ वर्षदेखि कलेजले शिक्षाको ज्योति फैलाउँदै राष्ट्रका लागि सक्षम, अनुशासित र जिम्मेवार नागरिक उत्पादन गर्न खेलेको भूमिकाको प्रसंशा गर्नुभयो । वर्तमान युवा पुस्ता प्रगतिशील र आत्मनिर्भरतातर्फ उन्मुख रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘आजका युवाहरू केवल जागिरको खोजीमा मात्र सीमित छैनन्, बरु उनीहरू आफ्नो प्रतिभा, नवप्रवर्तन (नवाचार) र उद्यमशीलताको माध्यमबाट नयाँ रोजगारी सिर्जना गर्न सक्षम छन् । नेपालको भविष्य यही युवाशक्तिमा निर्भर छ र उनीहरूको सफलता नै देशको सुनौलो भविष्यको आधारस्तम्भ हो ।’

उहाँले प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल विकास र विश्वव्यापी प्रतिस्पर्धाको यस युगमा आफ्ना आधारभूत मूल्य–मान्यता र नैतिकतालाई जोगाउँदै विश्वस्तरमा खरो उत्रिनुपर्ने चुनौती रहेको औंल्याउनुभयो । साथै, शिक्षक वर्गलाई राष्ट्र निर्माणका सच्चा अभियन्ताका रूपमा स्मरण गर्दै उहाँले उच्च सम्मान प्रकट गर्नुभयो ।

शिक्षाको महत्वमाथि प्रकाश पार्दै उपराष्ट्रपति यादवले शैक्षिक प्रमाणपत्र मात्र हासिल गर्नु ठूलो विषय नभएको भन्दै जीवनोपयोगी सीप र संस्कारयुक्त गुणस्तरीय शिक्षामा जोड दिनुभयो । ई–लर्निङ र एआई जस्ता डिजिटल प्रविधिलाई विद्यालयदेखि विश्वविद्यालय तहसम्म अनिवार्य रूपमा विस्तार गर्नुपर्ने उहाँको धारणा थियो ।

उहाँले शिक्षालयहरूलाई समावेशी सिद्धान्त अपनाउन आग्रह गर्दै ग्रामीण, पिछडिएका, दलित, आदिवासी जनजाति, मधेशी, थारु र मुस्लिम समुदायका बालबालिकाका लागि शिक्षामा समान अवसर सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो । कलेज तथा विश्वविद्यालयहरू अब केवल सैद्धान्तिक अध्यापनमा मात्र सीमित नभएर अनुसन्धान र उद्यमशीलताको केन्द्र बन्नुपर्ने उहाँको भनाइ थियो ।

समारोहमा सम्वोधनका क्रममा उपराष्ट्रपति यादवले शिक्षा क्षेत्रका वर्तमान चुनौतीहरूलाई अवसरमा बदल्न गुणस्तरीय, व्यावहारिक र डिजिटल शिक्षाको मार्ग अपनाउनुपर्ने बताउनुभयो । उक्त अवसरमा उहाँले कलेजका उत्कृष्ट प्राध्यापक, कर्मचारी तथा जेहेन्दार विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गर्दै बधाई तथा उज्ज्वल भविष्यको शुभकामना समेत व्यक्त गर्नुभयो ।

२०८३ असार १४ गते आइतबार

Comments are closed

Related Post