काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले गणेश नेपालीको आत्मदाह र निधनसँग सम्बन्धित घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ।
नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत र न्याय उपलब्ध गराउन सरकारसँग गरेका हुन्।
‘राज्य र आम नागरिकबीच अपनत्वको सम्बन्ध कमजोर बन्दै जानु तथा राज्यले भुइँतहका नागरिकको पीडा, संवेदना र आवाज नसुन्नुका कारण एकातिर गणेश नेपालीजस्ता नागरिक आत्मदाहजस्तो चरम कदम चाल्न विवश भएका छन् भने अर्कोतर्फ हजारौँ सुकुम्वासी, भूमिहीन, श्रमिक तथा विपन्न नागरिक मर्नु न बाँच्नुको अवस्थामा जीवन बिताउन बाध्य छन् ।’नेकपाले भनेको छ ।
कथित मध्यम वर्ग विस्तारका नाममा गरिब, मजदुर, सुकुम्वासी, दलित, जनजाति, मधेसी, थारु, बेरोजगार युवा लगायत उत्पीडित समुदायमाथि पीडा थप्ने, दमन गर्ने र हुकुमी शैलीमा शासन सञ्चालन गर्ने प्रवृत्ति बढ्दै गएको देखिनु अत्यन्त चिन्ताजनक भएको नेकपाको ठहर छ।
नेकपाले सरकारसँग धरातलीय यथार्थमा उभिएर आम नागरिकका समस्याप्रति संवेदनशील बन्न, विशेषगरी बेरोजगार युवा, सुकुम्वासी, भूमिहीन, मिटरब्याजपीडित तथा अन्य उत्पीडित समुदायका समस्यालाई तत्काल मानवीय, न्यायोचित र संवेदनशील ढङ्गले सम्बोधन गर्न माग गरेको छ।















Comments are closed