Shopping cart

  • Home
  • समाज
  • कालिका मावि बाबुङ्गामा बिदाई, स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न
देश

कालिका मावि बाबुङ्गामा बिदाई, स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

Email :32

पाँचथर । पाँचथर फिदिम नगरपालिका-११ बाबुङ्गा स्थित श्री कालिका माध्यमिक विद्यालय बाबुङ्गाले अवकाश भएका शिक्षकको बिदाई, नयाँलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

शिक्षक अभिभावक सङ्घका अध्यक्ष कमल आङ्बोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक उपेन्द्र न्यौपानेले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा वडा अध्यक्ष राजेन्द्र थापा प्रमुख अतिथि तथा पूर्व प्रधानाध्यापक प्रसाद घिमिरे विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा शिक्षक निर्मला अधिकारी, लिला उप्रेती तथा पूर्व प्रधानाध्यापक रुपेन्द्र बुढाथोकीलाई बिदाई गरिएको थियो भने सरुवा भई आउनुभएका शिक्षक घनेन्द्र आङ्बो र नितिज आङ्बोलाई स्वागत गरिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रेम खतिवडाले बताउनु भयो ।

कार्यक्रममा बोल्ने अभिभावक तथा वक्ताहरूले विद्यालयमा गुणस्तरीय शिक्षामा विशेष जोड दिनुपर्ने धारणा राखेका थिए। कार्यक्रममा पूर्व प्रधानाध्यापक बेणुकृष्ण गौतम, नरेन्द्रप्रसाद अधिकारी, रुपेन्द्र बुढाथोकी, पूर्व शिक्षक धनपाल नेम्बाङ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष शुरेन्द्र फेवा, डाकप्रसाद तावा, सविता तुम्बापो लगायतले मन्तव्य राख्नुभएको थियो।

विद्यालयका प्रधानाध्यापक घुरनप्रसाद साहले आगामी शैक्षिक वर्षका लागि गुणस्तरीय शिक्षा सुधारसम्बन्धी रणनीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने स्वागत मन्तव्य सहायक- प्रधानाध्यापक प्रेम खतिवडाले राख्नुभएको थियो।

कार्यक्रममा एसईई परीक्षाको मूल्याङ्कन गर्दै आगामी दिनमा विद्यालय, शिक्षक र अभिभावकबीच त्रिपक्षीय सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउने निर्णय गरिएको छ।

त्यस अवसरमा २५ जना विद्यार्थीलाई स्वेटर वितरण तथा विद्यालयलाई प्रोजेक्टर सहयोग गर्ने सजना जबेगुलाई सम्मान गरिएको थियो। कार्यक्रम विभिन्न निर्णय तथा प्रतिबद्धतासहित सम्पन्न भएको विद्यालयले जनाएको छ।

Comments are closed

Related Post