Shopping cart

देश

कथा – मिठाइहरुको कल्पना

Email :183

सीता ओझा

एकदिन सबै मिठाइँहरुको एकआपसमा वादविवाद सुरुभएछ । मिठाइँ मध्ये पहिले रसभरीले भनेछ, ” म सबैभन्दा मीठो छु । त्यसैले त रसभरी कहलाएको छु ।” रसभरीको कुरा सुन्दै डाह भएर लड्डुले भनेछ, ” म झन मिठो छु ” रसभरी र लड्डुको कुरा सुनेर हतारिँदै जुलेवीले भनेछ, ” म त तिमीहरू भन्दा भिन्न छु, मिठो रसले भरिएको कारण तिमीहरू भन्दा स्वादिष्ट छु ।”

 

जुलेबीले आफुलाई रसको गुणसँग जोडेर तारिफ गरेको सुनेर लड्डुले फेरि भनेछ , हेर साथीहरु ! मलाई त सधैं भगवानले हातमै राखि राखि नचाउनु हुन्छ, त्यसैले म भगवानको प्रिय छु । ” लड्डुको कुराले हलुवालाई छट्पटी भएछ र भनेछ, ” लड्डु भाइ! तिमीलाई त भगवानले हातमा राख्नुभएको मात्रै हो । भगवानको भोजन त म हुँ । अनि कसरी तिमी प्रिय हुनसक्छौ ?” मिठाइँहरुका सबै कुरा सुनेर कुनामा बसेको चिनीको बोराले भनेछ।

 

” तिमीहरू सबै चुप लाग । मेरो अनुपस्थितमा तिमीहरू सबै आटा,दालको पाउडर,पिठो मात्रै हौ।म तिमीहरूभित्र छिरेपछि मात्रै तिमीहरूमा स्वाद भरिन्छ ,बुझ्यौ नि ! त्यसैले सबैभन्दा मीठो म हुँ । ” चिनीको बोराको कुरा सुनेर मिठाइँहरु चुप भएछन । उनीहरूको वादविवाद पनि रोकियो ।

 

हामी मानिसहरु पनि ती मिठाइँहरु जस्तै छौ । हामी मध्ये कसैलाई गाडी र बङ्गलाको सौख छ।कसैलाई शक्ति र श्रोतको घमण्ड छ।कसैलाई इज्जत र उच्च घरानाको । मानिसको स्वभाव कै कारण देशदेशविच ठूलो र सानोको लडाइँ छ। हत्या,हिंसा र युद्धले विश्व आतंकित छ। विस्तारै मानिसको कारण नै मानवीय अस्तित्व नै खतरामा पर्दैछ।

 

यो सब सास हुन्जेल मात्रै हो भनेर थाहा पाउँदापाउँदै पनि मानिसहरुले मानिसहरुलाई नै हेप्ने,सेक्ने गरिरहन्छन् । वास्तवमा सम्बन्ध त मानिसको शरीर र प्राण जस्तो देखिनु पर्ने हो नि ! जुन जिन्दगीभर साथ भएर पनि एक अर्काको पहिचान र अस्तित्वसहित बाँचिरहेका हुन्छन् !

Comments are closed

Related Post