Shopping cart

  • Home
  • राजनिती
  • ओखलढुंगामा सयौं युवाको रोजाइ नेपाली कम्युनिष्ट पार्टी
देश

ओखलढुंगामा सयौं युवाको रोजाइ नेपाली कम्युनिष्ट पार्टी

Email :75

ओखलढुंगा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा ओखलढुंगामा परिवर्तन र विकासको पक्षमा जनलहर स्पष्ट देखिन थालेको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा उम्मेदवार अम्बिरबाबु गुरुङको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको दाबी गरिएको छ। यसैक्रममा एमाले र कांग्रेस परित्याग गरी सयौं युवा औपचारिक रूपमा नेकपामा प्रवेश गरेका छन्।

 

काठमाडौंको जोरपाटीमा आयोजित विशेष पार्टी प्रवेश कार्यक्रममा चम्पादेवी र सुनकोशी गाउँपालिकाका युवाहरूले नेकपाप्रति आफ्नो आस्था प्रकट गरेका हुन्। नवप्रवेशीलाई उम्मेदवार गुरुङ, जिल्ला संयोजक चम्पा कार्की ‘आशा’ लगायतका नेताहरूले खादा–माला लगाएर स्वागत गर्दै पार्टीमा जिम्मेवारीसहित सक्रिय हुने आह्वान गरेका थिए।

पलापु, चिप्लिङ, फेदीगुठ, सिस्नेरी र बिलन्दु क्षेत्रका युवाहरूले “विकास, सुशासन र स्पष्ट राजनीतिक दृष्टिकोण” को आधारमा नेकपा रोजेको बताएका छन्। कार्यक्रमको संयोजन चम्पादेवी–५ का पूर्व वडाध्यक्ष तथा समाजसेवी युवा नेता झलकमान तामाङले गरेका थिए। उनले ओखलढुंगाको समग्र विकासका लागि सक्षम र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको उल्लेख गरे।

 

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गुरुङले आफूले प्रदेश सांसदका रूपमा सुरु गरेका सयौं विकास योजनाहरू अझै अधुरा रहेको उल्लेख गर्दै ती योजनाहरूलाई पूर्णता दिन प्रतिनिधिसभामा आफ्नो उपस्थिती आवश्यक रहेको बताए।

“ओखलढुंगाको समृद्धिका लागि सुरु गरिएका योजनाहरूलाई बीचमै रोकिन दिनु हुँदैन। जनताको विश्वास र समर्थनले ती सबै अधुरा योजना पूरा गरेर जिल्लालाई विकासको नयाँ उचाइमा पुर्‍याउनेछु,” गुरुङले दृढतापूर्वक भने।

उनले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीका क्षेत्रमा ठोस योजना अघि सार्दै युवालाई केन्द्रमा राखेर विकासको खाका तयार पारेको बताए।

 

पार्टी प्रवेश कार्यक्रमलाई नेकपाले आगामी निर्वाचनमा जनआकांक्षा र परिवर्तनको स्पष्ट संकेतका रूपमा व्याख्या गरेको छ। स्थानीय तहदेखि संघसम्म समन्वय गर्दै दीर्घकालीन विकासको आधार तयार पार्ने प्रतिबद्धतासहित गुरुङको उम्मेदवारीलाई व्यापक समर्थन प्राप्त भइरहेको दाबी गरिएको छ।

निर्वाचन नजिकिँदै जाँदा ओखलढुंगामा नयाँ राजनीतिक ध्रुवीकरण र शक्ति सन्तुलनको बहस तीव्र बन्दै गएको छ। यसबीच सयौं युवाको सक्रिय सहभागिता र समर्थनले नेकपा उम्मेदवार गुरुङको पक्षमा सकारात्मक माहोल सुदृढ हुँदै गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

Comments are closed

Related Post