उदयपुर । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) की समानुपातिक उम्मेदवार सानी दनुवारले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुर–१ का प्रतिनिधिसभा सदस्य पदका प्रत्यक्ष उम्मेदवार बलदेव चौधरीलाई सघाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले आसन्न निर्वाचनमा उदयपुर–१ बाट विकास, समृद्धि र स्थायित्वको नेतृत्व गर्न सक्षम उम्मेदवारका रूपमा चौधरीलाई प्रस्तुत गर्दै मतदातालाई प्रत्यक्षतर्फ “तारा” छापमा मतदान गर्न आग्रह गरेकी हुन्।
दनुवारले उदयपुर–१ को समग्र विकासका लागि दूरदृष्टि, इमानदारी र जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै चौधरी त्यस्ता गुणले सम्पन्न नेता भएको बताएकी छन्। “उदयपुरको कृषि, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र रोजगारीका सवालमा ठोस योजना र स्पष्ट धारणा भएका उम्मेदवार बलदेव चौधरी नै हुनुहुन्छ,” उनले भनिन्, “उहाँलाई जिताउनु भनेको उदयपुरको भविष्य सुरक्षित गर्नु हो।”
नेकपा उदयपुरका स्थानीय नेता इश्वर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत दनुवारको समर्थन सार्वजनिक गर्दै चौधरीको पक्षमा चुनावी माहोल थप उत्साहजनक बन्दै गएको जनाएका छन्। उनका अनुसार दनुवारको समर्थनले वामपन्थी तथा प्रगतिशील मत एकीकृत हुने विश्वास गरिएको छ।

यसैबीच, नेकपाका उम्मेदवार चौधरी अहिले त्रियुगा र चाैदण्डीगढी नगरपालिका सहित उदयपुर–१ का विभिन्न गाउँ–टोलमा घरदैलो अभियानमा सक्रिय छन्। उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय आवश्यकता, समस्या र सुझाव संकलन गरिरहेका छन्। ग्रामीण सडक स्तरोन्नति, सिँचाइ विस्तार, युवालाई स्वरोजगारसँग जोड्ने कार्यक्रम, सामुदायिक विद्यालयको गुणस्तर सुधार र स्वास्थ्य सेवाको पहुँच विस्तार आफ्नो प्राथमिकतामा रहेको उनले बताएका छन्।
चौधरीले निर्वाचन जितेपछि घोषणापत्रमा समेटिएका कार्यक्रमलाई समयबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै “राजनीति पदका लागि होइन, जनताको सेवा र परिवर्तनका लागि हो” भन्ने धारणा दोहोर्याउँदै आएका छन्।
उदयपुर–१ मा निर्वाचन गतिविधि दिनप्रतिदिन तीव्र बन्दै जाँदा चौधरीको पक्षमा विभिन्न तहबाट समर्थन बढिरहेको नेताहरूको दाबी छ। सानी दनुवारको समर्थनपछि प्रत्यक्षतर्फ तारा छापमा मतदान गर्न आह्वानले चुनावी प्रतिस्पर्धालाई नयाँ आयाम दिएको विश्लेषण गरिएको छ।














Comments are closed