Shopping cart

  • Home
  • समाज
  • आज साउने सङ्क्रान्ति, देशभर धार्मिक आस्था, सांस्कृतिक परम्परा तथा विविध अनुष्ठानका साथ मनाइँदै
देश

आज साउने सङ्क्रान्ति, देशभर धार्मिक आस्था, सांस्कृतिक परम्परा तथा विविध अनुष्ठानका साथ मनाइँदै

Email :66

काठमाडौँ । आज  सौर पात्रोअनुसार साउन महिनाको पहिलो दिन पर्ने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर धार्मिक आस्था, सांस्कृतिक परम्परा तथा विविध अनुष्ठानका साथ मनाइँदै छ। आजकै दिन सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने विश्वास गरिन्छ, जससँगै वैदिक परम्पराअनुसार दक्षिणायन पनि प्रारम्भ हुन्छ।

सनातन संस्कृतिमा उत्तरायण र दक्षिणायन दुवैलाई विशेष महत्व दिइन्छ। माघ १ गते सुरु हुने उत्तरायणपछि साउन १ गतेदेखि दक्षिणायन सुरु हुने भएकाले यो दिन धार्मिक दृष्टिले शुभ मानिन्छ। यस अवसरमा श्रद्धालुहरूले नदी, ताल तथा तीर्थस्थलमा स्नान गरी दान–पुण्य गर्ने परम्परा निर्वाह गर्दै आएका छन्।

ग्रामीण जीवनसँग जोडिएको यो पर्व खेतीपातीसँग पनि सम्बन्धित छ। असारभर खेतबारीमा व्यस्त रहने किसानले हिलोमैलोका कारण हुने छालासम्बन्धी समस्याबाट बच्ने विश्वासका साथ ‘लुतो फाल्ने’ परम्परा पनि आजकै दिन मनाउने चलन छ।

परम्पराअनुसार काग भलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा र नासपातीजस्ता औषधीय गुण भएका वनस्पति प्रयोग गरी विशेष विधिबाट अगुल्टो फालिन्छ। यस क्रममा कतै नाङ्लो ठटाउने, कतै शङ्ख फुक्ने, घण्ट बजाउने तथा घरको ढोका बन्द गर्ने चलन अझै पनि जीवित छ।

साउन महिना भगवान् शिवको आराधनाका लागि विशेष मानिने भएकाले आजदेखि देशभरका शिवालयमा भक्तजनको चहलपहल बढ्न थालेको छ। विशेषगरी काठमाडौंस्थित पशुपतिनाथ मन्दिरसहित विभिन्न शिवधाममा दर्शन र पूजा–आराधना गर्ने श्रद्धालुको भीड लाग्ने अपेक्षा गरिएको छ।

यसैबीच, महिलाले हरियो चुरा, हरियो पोशाक तथा मेहन्दी लगाउने परम्पराले पनि साउन महिनाको सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई झल्काउने विश्वास गरिन्छ। हरियो रंगलाई वर्षा, हरियाली, समृद्धि र शुभताको प्रतीकका रूपमा लिने चलन नेपाली समाजमा अझै कायम छ।

धार्मिक आस्था, कृषि संस्कृति, स्वास्थ्यसम्बन्धी लोकविश्वास र प्रकृतिप्रतिको सम्मानलाई एकसाथ समेट्ने साउने सङ्क्रान्ति नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा आज पनि निरन्तर मनाइँदै आएको छ।

Comments are closed

Related Post