Shopping cart

  • Home
  • स्वास्थ्य
  • हिमाली जिल्लामा जलवायुको बहस : मुस्ताङमा आजदेखि सम्मेलन
अन्तर्राष्ट्रिय

हिमाली जिल्लामा जलवायुको बहस : मुस्ताङमा आजदेखि सम्मेलन

Email :29

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे बहस र छलफल गर्न आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ आयोजना हुँदैछ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्ने कार्यक्रम रहेको छ। जलवायु परिवर्तनबाट स्थानीय तहमा परिरहेको प्रभाव, त्यसको सामना गर्ने उपाय तथा वातावरण संरक्षणका विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ।

सम्मेलनमा सहभागी हुन देशका विभिन्न स्थानीय तह तथा जिल्ला समन्वय समितिका जनप्रतिनिधि मुस्ताङ पुगेका छन्। आयोजक घरपझोङ गाउँपालिकाका अनुसार सोमबार साँझसम्म सातै प्रदेशका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजारभन्दा बढी अतिथि मुस्ताङ आइपुगेका छन्।

सम्मेलनलाई व्यवस्थित बनाउन घरपझोङ गाउँपालिकाका पाँचवटै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब तथा विभिन्न संघसंस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले जानकारी दिइन्।

सम्मेलनस्थलमा ‘रोइरहेको पृथ्वी’

जलवायु परिवर्तनको असरबारे जनचेतना फैलाउने उद्देश्यले सम्मेलनस्थलमा विशेष आकर्षणसमेत राखिएको छ। त्यहाँ करिब २८ फिट अग्लो पृथ्वी रोइरहेको देखिने गोलाकार बेलुन आकृति निर्माण गरिएको छ।

यसले बढ्दो तापक्रम, वातावरणीय विनाश र जलवायु परिवर्तनका कारण पृथ्वीले भोगिरहेको संकटलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने आयोजकको भनाइ छ।

त्यस्तै, मुस्ताङमा उत्पादित कृषि उपज तथा स्थानीय उत्पादनको प्रचार–प्रसार र बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले ५० भन्दा बढी प्रदर्शनी तथा बिक्री स्टल राखिएका छन्।

सम्मेलनको अन्त्यमा जलवायु परिवर्तनका असर न्यूनीकरण, स्थानीय तहको भूमिका र वातावरण संरक्षणका विषय समेटिएको घोषणापत्र जारी गरिने आयोजकले जनाएको छ। सम्मेलनले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई राष्ट्रिय बहसमा थप जोड दिने अपेक्षा गरिएको छ।

Comments are closed

Related Post