Shopping cart

  • Home
  • समाज
  • ‘भोटेकोशीको पीडामा राज्य मैदानमै छ’ : प्रधानमन्त्री शाह, ९ हजार ४३५ नागरिकको उद्धारदेखि ७८१ शव व्यवस्थापनसम्म
देश

‘भोटेकोशीको पीडामा राज्य मैदानमै छ’ : प्रधानमन्त्री शाह, ९ हजार ४३५ नागरिकको उद्धारदेखि ७८१ शव व्यवस्थापनसम्म

Email :76

काठमाडौं । प्रधानमन्त्री बालिन शाहले भोटेकोशी बाढीबाट सिर्जित विपद्लाई सरकारले गम्भीरतापूर्वक लिँदै सम्पूर्ण राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरिएको बताएका छन्।

विगत पाँच दिनदेखि देशले अकल्पनीय र हृदयविदारक प्राकृतिक विपद्को सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले प्रतिकूल मौसम, विकट भूगोल र निरन्तरको जोखिमका बीच पनि नागरिकको जीवनरक्षा, खोजी-उद्धार, उपचार, राहत तथा शव व्यवस्थापनलाई तीव्रता दिइएको बताएका हुन्।

प्रधानमन्त्रीका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ९ हजार ४३५ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको छ। उद्धार तथा राहतका लागि हालसम्म ३९४ उडान भइसकेका छन्, जसमा आज मात्रै ७२ उडान भएका छन्। विपद् प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २० हजार ६१८ सुरक्षाकर्मी परिचालित छन्।

सुरुङभित्र फसेकाको खोजी अझै जारी

जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारलाई उच्च प्राथमिकता दिइएको प्रधानमन्त्रीले बताएका छन्।

रसुवाको माथिल्लो त्रिशूली-१ आसपासबाट दुई दिनमा २५० जनाको उद्धार गरिएको छ भने विभिन्न विद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत २७९ जनालाई सुरक्षित स्थानमा ल्याइएको छ।

चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी खोजी जारी राखेका छन्। चिनियाँ टोलीले सुरुङभित्र करिब तीन किलोमिटरसम्म खोजी गरे पनि हालसम्म मानिस फेला पर्न सकेको छैन।

त्यस्तै, नुवाकोटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विशेषज्ञ टोली उद्धारमा जुटेको छ। सुरुङको मुख्य भागमा प्वाल बनाएर खोजी गर्दा भित्रबाट प्रतिक्रिया नआएपछि ब्लास्टिङ, ठूला उपकरण तथा प्वाल फराकिलो पार्ने काम जारी राखिएको छ।

२६७ घाइतेको उपचार, १५६ डिस्चार्ज

बाढीमा घाइते भएका २६७ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रधानमन्त्रीका अनुसार उपचारपछि १५६ जना डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तथा मनोपरामर्शका लागि काठमाडौंलगायतका स्थानबाट चिकित्सकसहितको टोली परिचालन गरिएको छ।

७८१ शव फेला, पहिचानको प्रयास जारी

विपद्को सबैभन्दा पीडादायी पक्षका रूपमा प्रधानमन्त्रीले शव व्यवस्थापनलाई पनि उल्लेख गरेका छन्।

बाढीमा ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको र नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा व्यवस्थापन भइरहेको उनले बताएका छन्।

पहिचान भएका शव आफन्तको जिम्मा लगाउने प्रक्रिया जारी छ भने पहिचान हुन नसकेका शवलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ अनुसार व्यवस्थापन गर्न थालिएको प्रधानमन्त्रीको भनाइ छ।

सरकारले पहिचानको सम्भावना रहने आधारहरू-विशेषगरी डीएनए लगायतका प्रमाण सुरक्षित राखेर मात्रै पहिचान हुन नसकेका शवको व्यवस्थापन गरिरहेको जनाएको छ।

प्रधानमन्त्री राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी

विपद् प्रभावितका लागि सञ्चालन गरिएको प्रधानमन्त्री राहत कोषमा विभिन्न नौ वाणिज्य बैंकका खातामार्फत हालसम्म ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

त्यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको छ। संकलित रकमलाई प्रभावित नागरिकको हितमा प्रभावकारी ढंगले खर्च गर्ने विषयमा छलफल भइरहेको बताइएको छ।

२६ स्थानमा राहत तथा आश्रय केन्द्र

रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। आइतबार मात्रै यी केन्द्रबाट ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।

भारत र चीनबाट समेत उद्धार तथा राहत सामग्री प्राप्त भइरहेको सरकारले जनाएको छ। भारतबाट हालसम्म चार चरणमा ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ भने सडक सम्पर्क पुनःस्थापनाका लागि भारतले थप बेलीब्रिज सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

सञ्चार र सडक सम्पर्क पुनःस्थापनाको प्रयास

बाढीका कारण अवरुद्ध दूरसञ्चार सेवामध्ये अधिकांश पुनः सञ्चालनमा आएका छन्। नेपाल टेलिकम र एनसेलका प्रभावित बीटीएस टावरमध्ये अधिकांश सञ्चालनमा ल्याइएको सरकारले जनाएको छ।

त्यस्तै, प्रभावित क्षेत्रसँगको सडक सम्पर्क जोड्न वैकल्पिक सडक सञ्चालनमा ल्याइए पनि भोटेकोशीमा पानीको सतह बढ्दा पहिरो तथा कृष्णभीर क्षेत्रमा कटानका कारण केही सडक पुनः अवरुद्ध भएका छन्।

‘सरकार अभिभावक बनेर उभिएको छ’

प्रधानमन्त्री शाहले विपद्को यो कठिन घडीमा नागरिकले भोगिरहेको पीडा आफूहरूले गम्भीर रूपमा महसुस गरेको बताएका छन्।

“आफ्ना प्रियजन, घरबार र जायजेथा गुमाउँदाको पीडाभन्दा ठूलो अन्य केही हुन सक्दैन,” भन्दै उनले राज्यको सर्वोच्च दायित्व नागरिकको जीवनरक्षा र अभिभावकत्व प्रदान गर्नु रहेको उल्लेख गरेका छन्।

उनले सरकार “कुनै पनि बहाना नबनाई” सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेर खोजी, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणमा निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन्।

“हाम्रो एकता र सामूहिक प्रयासबाट नै यो संकटलाई परास्त गर्न सफल हुनेछौं,” प्रधानमन्त्री शाहको भनाइ छ।

Comments are closed

Related Post