Shopping cart

  • Home
  • समाज
  • शैलेन्द्र साकारको एकल वाचन : ‘राष्ट्रियतामा साहित्यको भूमिका’बारे गहन चर्चा
देश

शैलेन्द्र साकारको एकल वाचन : ‘राष्ट्रियतामा साहित्यको भूमिका’बारे गहन चर्चा

Email :45

काठमाडौँ । भृकुटी सञ्चार (साहित्य तथा कला विभाग) को आयोजनामा काठमाडौंमा  वरिष्ठ कवि शैलेन्द्र साकारको एकल कविता वाचन तथा “राष्ट्रियतामा साहित्यको भूमिका” विषयक विचार-गोष्ठी भव्य रूपमा सम्पन्न भएको छ।
वरिष्ठ आख्यानकार माया ठकुरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन राष्ट्रिय झण्डा फहराएर तथा बिरुवामा पानी सिञ्चित गरी गरिएको थियो। कार्यक्रमका सभापति, कवि, साहित्यकार एवं भृकुटी सञ्चारका अध्यक्ष ज्योति किरण रिजाल हुनुहुन्थ्यो।
कार्यक्रममा प्रमुख वाचक कवि शैलेन्द्र साकारले आफ्ना एक दर्जन बहुचर्चित कविताहरू वाचन गरेर उपस्थित दर्शक तथा श्रोतालाई भावविभोर बनाउनुभयो। एकल वाचनकै क्रममा कार्यक्रमका सहभागीहरूले मञ्चमै स्वतःस्फूर्त आर्थिक सङ्कलन गरी स्रष्टा साकारको सम्मानस्वरूप रु. १३,००० (तेह्र हजार नगद) नगद पुरस्कार अर्पण गरेका थिए।
कार्यक्रममा “राष्ट्रियतामा साहित्यको भूमिका” विषयमा केन्द्रित रहेर विशिष्ट अतिथिहरू वरिष्ठ इतिहासविद् प्रा. डा. सुरेन्द्र केसी, वरिष्ठ आख्यानकार पुष्कर लोहनी, वरिष्ठ साहित्यकार प्रा. युयुत्सु शर्मा, पूर्वराजदूत एवं साहित्यकार डा. निर्मल विश्वकर्मा तथा कवि एवं समाजसेवी आरजु कुमार केसी लगायतले आ-आफ्नो महत्त्वपूर्ण विचार व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सुरुआतमा साहित्यकार सीता आस्थाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने केदार बस्नेत र विष्णु भट्टराईले शुभकामना मन्तव्य तथा कविता प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, चर्चित गायक ‘जे पापी’ ले आफ्ना दुईवटा सांगीतिक प्रस्तुति मार्फत कार्यक्रममा थप रौनक थप्नुभयो।
अन्चु सुवेदीले कुशल सञ्चालन गर्नुभएको उक्त साहित्यिक समारोहमा १५० भन्दा बढी विशिष्ट साहित्यकार, स्रष्टा तथा साहित्य अनुरागीहरूको बाक्लो उपस्थिति रहेको थियो।

Comments are closed

Related Post