Shopping cart

  • Home
  • समाज
  • अन्तरमनको शान्तिबाट विश्वशान्तिको सन्देश फैलाउन काठमाडौँमा चारदिने अन्तर्राष्ट्रिय आध्यात्मिक कार्यक्रम हुँदै
अन्तर्राष्ट्रिय

अन्तरमनको शान्तिबाट विश्वशान्तिको सन्देश फैलाउन काठमाडौँमा चारदिने अन्तर्राष्ट्रिय आध्यात्मिक कार्यक्रम हुँदै

Email :31

काठमाडौं। आगामी सेप्टेम्बर १८ देखि २१ (सन् २०२६) सम्म काठमाडौँको कापन डाँडास्थित श्याल्पा गुम्बामा “अन्तरमनको शान्तिबाट विश्वशान्तितर्फ” (Inner Peace to World Peace) भन्ने मूल नारासहित चारदिने अन्तर्राष्ट्रिय आध्यात्मिक तथा ध्यान कार्यक्रम आयोजना हुने भएको छ।
आयोजकका अनुसार कार्यक्रमको पहिलो तीन दिन अर्थात् सेप्टेम्बर १८ देखि २० सम्म विशेष ध्यान तथा आध्यात्मिक साधना (रिट्रिट) सञ्चालन गरिनेछ। हिमालयको आध्यात्मिक वातावरणमा सहभागीहरूले बौद्ध शिक्षा, ध्यान र साधनामार्फत अन्तरमनमा शान्ति, करुणा र सकारात्मक चेतनाको विकास गर्ने अवसर प्राप्त गर्नेछन्।
कार्यक्रमको अन्तिम दिन अर्थात् सेप्टेम्बर २१ मा मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा विश्वशान्ति, मानव कल्याण तथा सबै प्राणीको सुख, शान्ति र दुःखबाट मुक्तिको कामनासहित विशेष प्रार्थना तथा पुण्य समर्पण कार्यक्रम आयोजना गरिने जनाइएको छ।
परमपूज्य क्याब्जे श्याल्पा तेन्जिन रिन्पोछेको प्रमुख सान्निध्यमा हुने उक्त कार्यक्रममा नेपालसहित विभिन्न देशका ध्यान, बौद्ध दर्शन तथा आध्यात्मिक साधनामा रुचि राख्ने व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकले सम्पूर्ण मानव समुदायलाई कार्यक्रममा सहभागी भई आफ्नै अन्तरमनमा रहेको शान्तिलाई अनुभूति गर्दै विश्वशान्तिको अभियानमा योगदान पुर्‍याउन आग्रह गरेको छ। कार्यक्रमको मूल सन्देश “हाम्रो हृदयभित्रको शान्ति नै विश्वको शान्ति बनोस्” रहेको छ।
कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले आयोजकसँग सम्पर्क गरी पूर्वदर्ता गर्न सक्ने जनाइएको छ।

Comments are closed

Related Post