Shopping cart

  • Home
  • स्वास्थ्य
  • पछिल्लो २४ घण्टामा देशभर प्राकृतिक तथा अन्य विपद्सम्बन्धी ६६ वटा घटना
अर्थ

पछिल्लो २४ घण्टामा देशभर प्राकृतिक तथा अन्य विपद्सम्बन्धी ६६ वटा घटना

Email :13

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर प्राकृतिक तथा अन्य विपद्सम्बन्धी ६६ वटा घटना दर्ता भएका छन्। ती घटनाबाट ५२ जिल्ला प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार सोमबार बिहानदेखि मंगलबार बिहानसम्मको अवधिमा भएका विभिन्न विपद्का घटनामा परी दुई जनाले ज्यान गुमाएका छन् भने १३ जना घाइते भएका छन्।

तथ्याङ्कअनुसार सबैभन्दा धेरै १७ वटा पहिरोका घटना भएका छन्। त्यसपछि अविरल वर्षासँग सम्बन्धित १०, सर्पदंशका आठ, आगलागीका सात र बाढीका छ वटा घटना भएका छन्। यस अवधिमा दुई वटा भूकम्पका घटना र चट्याङ तथा जंगली जनावरको आक्रमणका एक/एक वटा घटना पनि अभिलेख गरिएको छ।

विपद्का कारण करिब १० लाख ७४ हजार ५०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ। विभिन्न स्थानमा पहिरो र अन्य कारणले सात ठाउँमा सडक अवरुद्ध भएको थियो, जसले आवागमनमा समेत असर पुर्‍याएको छ।

मनसुन सक्रिय रहेकाले आगामी दिनमा बाढी, पहिरो तथा डुबानको जोखिम अझै रहने भन्दै प्राधिकरणले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, यात्रा गर्नुअघि मौसमको अवस्था बुझ्न तथा स्थानीय प्रशासन र सम्बन्धित निकायले जारी गर्ने सूचना पालना गर्न पनि अनुरोध गरिएको छ।

प्राधिकरणले विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा बस्न र आकस्मिक अवस्थाका लागि आवश्यक तयारी गरेर मात्रै यात्रा तथा अन्य गतिविधि सञ्चालन गर्न सबैमा आग्रह गरेको छ।

Comments are closed

Related Post