Shopping cart

  • Home
  • समाज
  • वैदेशिक रोजगार विभागद्वारा झन्डै ६ सय म्यानपावर कम्पनीलाई कारबाही
अन्तर्राष्ट्रिय

वैदेशिक रोजगार विभागद्वारा झन्डै ६ सय म्यानपावर कम्पनीलाई कारबाही

Email :79

काठमाडौं ।  वैदेशिक रोजगार विभागले बिनाअनुमति भारतीय विमानस्थलबाट कामदार उडाएको र विवरण नबुझाएको कसुरमा झन्डै ६ सय म्यानपावर कम्पनीलाई कारबाही गरेको छ ।

हाल विभागमा १ हजार १ सय १७ म्यानपावर कम्पनी दर्ता रहेका छन् । विभागले ती मध्ये ५ सय ९८ म्यानपावर कम्पनीले वैदेशिक रोजगार ऐनका विभिन्न प्रावधान उल्लंघन गरेका कारण असार २६ गतेको निर्णयअनुसार कारबाही गरेको जनाएको छ । ५ सय ९८ म्यानपावर कम्पनीलाई सचेत गराएको विभागले त्यसमध्ये ८ वटा कम्पनीलाई दोस्रो पटक प्रत्येकलाई ५० हजार रुपैयाँका दरले जरिवाना समेत गरेको छ ।

विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ मा स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था रहेको र त्यसको कार्यान्वयन भए–नभएको सम्बन्धमा अनुगमन गर्न म्यानपावर कम्पनीहरूलाई गत चैत १ गतेदेखि जेठ ३१ गतेसम्मको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा पठाएका कामदारको उडान विवरण माग गरेको थियो ।

विभागले सञ्चालनमा रहेका १ हजार १ सय १७ वटा इजाजतवाला संस्थामध्ये ६ सय ७८ वटा संस्थाले विवरण उपलब्ध गराएकोमा १५९ वटा संस्थाले विभागको स्वीकृति बिना विदेशी विमानस्थल प्रयोग गरी कामदारलाई वैदेशिक रोजगारीमा पठाएको देखिएको र ४ सय ३९ वटा संस्थाले विभागले मागेको विवरण नपठाई निर्देशन पालना नगरेको जनाएको छ ।

उनीहरूमध्ये १ सय ५६ वटा संस्थालाई विभागको स्वीकृति नलिई भारतबाट कामदार उडाएर ऐनको दफा २२ उल्लंघन गरेको कसुरमा ऐनको दफा ५४ बमोजिम पहिलो पटक सचेत गराउने कारबाही भएको र ४ सय ३४ वटा म्यानपावर कम्पनीलाई दफा ३७ अनुसार पहिलो पटक सचेत गराउने कारबाही गरी पुनः विवरण पठाउन निर्देशन दिएको विभागले जनाएको छ ।

अन्य ८ वटा म्यानपावर कम्पनीलाई ऐनको दफा ५४ बमोजिम दोस्रो पटक सचेत गराई ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । ऐनको दफा ३७ मा विभागले म्यानपावर कम्पनीलाई आवश्यक निर्देशन दिन सक्ने र म्यानपावर कम्पनीहरूले उक्त आदेश तथा निर्देशन पालना गर्नुपर्ने व्यवस्था छ भने दफा ५४ मा आदेश तथा निर्देशन पालना नगर्ने म्यानपावर कम्पनीलाई सचेत गराउनेदेखि लाइसेन्स रद्द गर्नेसम्मको कारबाहीको व्यवस्था छ ।

 

Comments are closed

Related Post