Shopping cart

  • Home
  • राजनिती
  • एकता भए दलित संगठन, संयोजकमा दलजीत श्रीपाली र सहसंयोजकमा रामअवतार पासवान चयन
देश

एकता भए दलित संगठन, संयोजकमा दलजीत श्रीपाली र सहसंयोजकमा रामअवतार पासवान चयन

Email :44

काठमाडौं । दोस्रो ठूलो कम्युनिष्ट घटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध विभिन्न पाँच वटा दलित संगठनहरु एक भएका छन् । राजधानीमा आयोजित कार्यक्रममार्फत पाँचवटा दलित संगठनहरु एक भएको घोषणा गरिएको हो ।

विभिन्न राजनीतिक दल सम्बद्ध पाँच वटा दलित सङ्गठनको एकतापछि नेकपामा रहेका विभिन्न संगठनहरु ‘नेपाल दलित मोर्चा’ मा संगठित बनेका हुन् । मोर्चा गठनका लागि सम्पन्न एकता प्रक्रियामा तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा, तत्कालीन नेकपा (एकीकृत समाजवादी) निकट दलित मुक्ति सङ्गठन नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) निकट श्रमिक समुदाय मोर्चा नेपाल, डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी निकट नेपाल समाजवादी दलित मुक्ति सङ्गठन तथा धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट एकीकृत दलित मुक्ति मोर्चा सहभागी भएका छन् ।

सो एकता बैठकमा नेकपाका केन्द्रीय सदस्य परशुराम रम्तेलले ५३१ सदस्यीय केन्द्रीय समिति घोषणा गर्नुभएको थियो । बैठकले एकीकृत भएका सङ्गठनका पदाधिकारीहरूलाई समेटेर ६७ सदस्यीय सचिवालयसमेत गठन गरेको छ ।

सो बेठकमा साविक नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत श्रीपाली नेपाल दलित मोर्चाको संयोजक तोकिउको छ भने साविक दलित मुक्ति सङ्गठनका अध्यक्ष रामअवतार पासवान सहसंयोजक चयन हुनुभएको छ ।

संयोजक श्रीपाली दोस्रो संविधानसभा सदस्य तथा पूर्व मन्त्री हुनुहुन्थ्यो भने सहसंयोजक पासवान पनि दोस्रो संविधानसभाको सदस्य हुनुहुन्छ । श्रीपाली संयुक्त राजनीतिक दलित संघर्ष समितिका संयोजकसमेत हुनुहुन्छ । दुबै जना हाल नेकपाको केन्द्रीय सदस्य हुनुहुन्छ ।

मोर्चाको एकता घोषणा तथा केन्द्रीय समितिको बैठकको नेकपाका सह-संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभयो । सो बैठकमा सहसंयोजक नेपालले सङ्गठनलाई गतिशील बनाएर आगामी निर्वाचनको तयारीमा लाग्न निर्देशन दिनुभएको छ । उहाँले नेपालले समाजमा दलित भनेर घृणा र अपमान गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

सोमबारसम्म चल्ने बैठकमा जन वर्गीय सङ्गठन समन्वय मोर्चाका उपप्रमुख बलराम बास्कोटा र गणेशमान पुन, मोर्चाका सदस्य तिलक परियार, दलित तथा सीमान्तकृत अल्पसङ्ख्यक विभाग प्रमुख परशुराम रम्तेल, नेपाल दलित मुक्ति मोर्चाका सह–इन्चार्ज तेजबहादुर मिजार, संरक्षक रणेन्द्र बराली र पदम सुन्दास, सल्लाहकार भुवन सुनार, पार्टीका केन्द्रीय सदस्य दुर्गा परियार, डा. मित्र परियार लगायतले बोल्नुभएको थियो । सो बैठकको सञ्चालन राष्ट्रिय सभा सदस्य तथा साविक दलित मुक्ति संगठनका महासचिव घनश्याम रिजालले गर्नुभएको थियो ।

सो बैठकमा मोर्चाको अन्तरिक विधान पेश गरिएको छ । सो बैठकले सोमबार अन्तरिक विधान पास गर्नेछ भने आगामी कार्ययोजनाहरुसमेत सोमबार पारित गर्ने बताइएको छ ।

Comments are closed

Related Post