Shopping cart

देश

बादलको अभिव्यक्तिले एमालेमा तरंग

Email :12

काठमाडौं । एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधिसभाको पहिलो बैठकमा दिएको अभिव्यक्तिले पार्टीभित्र तरंग पैदा गरेको छ ।

एमाले उपाध्यक्ष समेत रहेका बादलले संसद बैठकमा भदौ २३ र २४ गते अवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा जेनजी आन्दोलन गरिएको र फागुन २१ गते आम निर्वाचनमार्फत ‘नीलो क्रान्ति’ लाई वैधानिकता प्रदान गरिएको आरोप लगाएका थिए ।

बादलले व्यक्त गरेका उक्त धारणा ‘पार्टीको स्थापित नीति र मान्यताविपरीत’ भन्दै एमाले नेताहरूले नै आपत्ति जनाएका छन् ।
बादलको भनाइमा आपत्ति जनाउनेमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई, सुरेन्द्र पाण्डे छन् ।

 

बादलले नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा ‘बादल’ ले बिहीबार संसद बैठकमा भदौ २३ र २४ गते अवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा जेनजी आन्दोलन गरिएको आरोप लगाएका थिए । उनले फागुन २१ गते आम निर्वाचनमार्फत ‘नीलो क्रान्ति’ लाई वैधानिकता प्रदान गरिएको टिप्पणी गरे ।

‘चैत १३ गते भव्य धार्मिक अनुष्ठानसहित बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो । यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहजीलाई म नेकपा एमालेको तर्फबाट धेरै–धेरै बधाई भन्न चाहन्छु,’ उनले भने ।

यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा कसको निर्णायक भूमिका रह्यो भन्ने स्पष्ट पार्न चाहेको भन्दै यसमा मुख्यतयाः नेपाली सेना, कर्मचारीतन्त्र (ब्युरोक्रेसी), सुशीला कार्की आयोग, बारबरा फाउन्डेसन, एनजिओ आदि संस्था तथा पात्रहरूको भूमिका निर्णायक रहेको उनले टिप्पणी गरे ।

‘यस जादुमय विजयका लागि बाह्य रूपमा कसले निर्णायक भूमिका खेल्यो भन्ने कुरा असंख्य तथ्यले स्पष्ट पारेका छन् । अदृश्य शक्तिहरू, एआई, एल्गोरिदम र गोयबल्स शैली अपनाउनेहरूले राष्ट्रियता, लोकतन्त्र र समृद्धिका नायकहरूलाई खलनायक र हत्याराको रूपमा स्थापित गरे। देश जलाउने र राष्ट्रिय पहिचान मेटाउने पात्रहरूलाई महानायक बनाउने ती अदृश्य पात्रहरूले बाह्य रूपमा निर्णायक भूमिका खेलेका छन्,’ उनले भने ।

यो चामत्कारिक विजयले केही असाधारण प्रश्नहरू जन्माएको उनको भनाइ थियो । कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शीतल निवास, बालुवाटार र सर्वोच्च अदालत जस्ता संरचनाहरू जलाइयो भन्दै उनले प्रश्न गरे। त्यस्तै, कुन उद्देश्यका लागि हतियारधारी समूहहरू २३–२४ गते तिलस्मी रूपमा प्रकट भए भन्ने प्रश्न पनि उनले गरेका थिए ।

‘कुन उद्देश्यका लागि गैरकानूनी ढंगबाट पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीलाई गिरफ्तार गरियो र राजनीतिक नेतृत्वलाई पक्राउ गर्ने प्रपञ्च रचियो? कुन उद्देश्यका लागि देशव्यापी रूपमा दमन चक्र र राज्य आतंक मच्चाइयो? कुन उद्देश्यका लागि विद्यार्थी तथा पेशाकर्मीहरूको संगठित हुने मौलिक अधिकार खोसियो र मिडिया ट्रायल आतंकको सिर्जना गरियो?,’ उनको प्रश्न थियो।

भविष्यले यी प्रश्नहरूको सही जबाफ दिने र एमाले यी प्रश्नहरू सम्पूर्ण तागतका साथ राज्यलाई सोध्ने पनि उनले बताए ।
‘यो सदनमा आवाज उठाइरहनेछौं । यस क्षणमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनादेश प्राप्त नेपाली कांग्रेस, नेपाल श्रम संस्कृति पार्टी, राप्रपा र स्वतन्त्र सांसदहरूलाई पनि म बधाई र शुभकामना दिन चाहन्छु,’ उनले भने, ’अन्तमा, यो अभूतपूर्व विजयले पराजित पक्षलाई पनि गम्भीर शिक्षा दिएको छ र आफ्ना कमी–कमजोरीहरू सच्याउने अवसर दिएको छ। यो पराजय केवल अस्थायी हो र पराजित सेनाले सधैं पराजयलाई विजयमा बदल्न सक्छ ।’

 

 

Comments are closed

Related Post