Shopping cart

  • Home
  • समाज
  • ओली, देउवा र प्रचण्डमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
मुख्य समाचार

ओली, देउवा र प्रचण्डमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु

Email :71

काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरूको सम्पत्तिमाथि छानबिन प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु भएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूको चल-अचल सम्पत्ति, आम्दानीको स्रोत तथा वित्तीय गतिविधिको अध्ययन सुरु गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । विभागको निर्देशनपछि सिआइबीले अनुसन्धानलाई गति दिएको हो ।

यसैक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्का आइतबार पक्राउ परेका छन् । सिआइबीका एआईजी डा. मनोज केसीका अनुसार खड्कालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । उनीमाथि थप अनुसन्धान गर्न अदालतबाट म्याद थप गर्ने तयारी गरिएको छ ।

स्रोतका अनुसार तीनै पूर्वप्रधानमन्त्रीसँग सम्बन्धित व्यक्तिहरू, परिवारका सदस्य र सचिवालयका केही सदस्यसमेत अनुसन्धानको दायरामा छन् । प्रहरीले उनीहरूको सम्पत्तिको स्रोत, लेनदेन र वित्तीय पारदर्शितासम्बन्धी पक्षहरू केन्द्रीत गरेर अनुसन्धान अघि बढाउने बताइएको छ ।

यसअघि भएको जेनजी आन्दोलनका क्रममा केही नेताहरूका घरमा आगजनी हुँदा जलेको अवस्थामा नगद भेटिएको घटनाले पनि अनुसन्धानलाई नयाँ मोड दिएको छ ।

त्यस घटनासँग सम्बन्धित प्रमाण संकलन गर्न सम्बन्धित स्थानमा मुचुल्का उठाइएको र केही रकम विभागले सुरक्षित राखेको बताइएको छ । अहिले सोही अनुसन्धानलाई थप विस्तार गर्दै सिआइबीले विस्तृत छानबिन अघि बढाएको हो ।

यसबीच, काठमाडौंको बुढानीलकण्ठस्थित देउवा निवासमा आगजनीपछि भत्काउने तयारी गरिएको संरचनामा स्थानीय प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनमा प्रहरी टोलीले त्यहाँ भइरहेको काम बन्द गराएको बताइएको छ । घटनास्थलमा फेला परेका जलेका नेपाली रुपैयाँ र विदेशी मुद्रासमेत अनुसन्धानको मुख्य आधार बनेका छन् ।

Comments are closed

Related Post