Shopping cart

  • Home
  • समाज
  • हामी पुराना हौँ, तर उस्तै खालका होइनौँ: वर्षमान पुन
देश

हामी पुराना हौँ, तर उस्तै खालका होइनौँ: वर्षमान पुन

Email :72

काभ्रेपलान्चोक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले निर्वाचनमा अपेक्षित परिणाम नआए पनि पार्टी पङ्क्तिलाई विचलित नहुन अपिल गरेका छन्।

काभ्रेको अनेकोटमा २८औँ शहीद सांस्कृतिक दिवसका अवसरमा बिहीबार आयोजित शहीद प्रतिमा अनावरण तथा शहीद परिवार सम्मान कार्यक्रममा बोल्दै उनले नेकपा ‘धुलो टकटकाएर’ अघि बढ्ने बताए। विचार, राजनीति, सङ्गठन, नेतृत्व, शैली र तौरतरिकाको पुनर्मूल्यांकन गरी जनता तथा मुलुकको आवश्यकता र भावनाअनुसार पार्टीले आफूलाई पुनर्गठन गर्ने उनको भनाइ थियो।

पुनले भने, “हामी रूपान्तरण र सुशासनको एजेन्डा लिएर निर्वाचनमा गएका थियौँ, तर जनताले हामीलाई पनि पुरानै राजनीतिक शक्तिको कोटीमा राखेर मत दिए। हामी भदौ २३ गते शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउने र २४ गते सिंहदरबार जलाउने विध्वंसको पक्षमा कहिल्यै थिएनौँ, छैनौँ र हुने छैनौँ। तर जनताले हामीलाई पनि पुरानै ढर्राको ठाने। हामी पुराना हौँ, तर उस्तै खालका होइनौँ। हामीले अवस्था बदल्न कोसिस गरेकै हौँ। फेरि जनतामा जान्छौँ।”

उनले १० वर्षे जनयुद्धको उदाहरण दिँदै धेरैपटक ठूलो बलिदान, क्षति र हार भए पनि नेतृत्वले हार नमानेको स्मरण गरे। “शहीदहरूको बलिदानलाई आत्मसात् गर्दै नयाँ ढङ्गले उठ्ने सङ्कल्प गर्नुपर्छ,” उनले भने।

जनताले निर्वाचनमार्फत नयाँ दलहरूलाई अभिमत दिएर पुराना दल तथा नेतृत्वलाई कार्यशैली बदल्न खबरदारी गरेको उनको भनाइ थियो। यो खबरदारीलाई सच्चिने अवसरका रूपमा लिनुपर्ने उनले बताए। “विचार र इतिहास नभएकाहरूले पनि झन्डै दुई तिहाइ प्राप्त गरेका छन्। जनताको अभिमत स्वीकार्नुपर्छ र यसलाई सच्चिनका लागि घचघच्याइएको राम्रो अवसर ठान्नुपर्छ।”

पुनले प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले १८ महिना सुशासन अभियान चलाएको स्मरण गर्दै त्यसैलाई आधार बनाएर भदौ २३–२४ का घटना भएको दाबी गरे। पुराना सत्तारुढ दलहरूलाई सडक र सदनबाट सचेत गराउँदा पनि सुनुवाइ नभएको उनको गुनासो थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुई तिहाइ जनमत पाएको उल्लेख गर्दै उनले सुशासन, समानता, रोजगारी र सन्तुलित कूटनीतिको अभियानमा सफलता प्राप्त गर्न सुझाव दिए। ती काममा नेकपाको सहयोग रहने प्रतिबद्धता पनि जनाए।

Comments are closed

Related Post